संरक्षणको अभावमा छेडेदह ताल

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अवस्थित छेडेदह ताल संरक्षणको अभावमा संकटमा पर्दै गएको छ । स्थानीयस्तरमा ‘प्रेम ताल’का नामले समेत चिनिने यो ताल पछिल्लो समय पहिरोको उच्च जोखिममा परेको हो ।

चारैतिर डाँडाकाँडा, शान्त वातावरण र मनमोहक प्राकृतिक दृश्यले घेरिएको छेडेदह ताल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण सम्भावना बोकेको प्राकृतिक सम्पदा हो । आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहे पनि संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारको अभावमा यसले अपेक्षित पहिचान बनाउन सकेको छैन ।

स्थानीय राजेश सुनारका अनुसार तालको अस्तित्व नै संकटमा पर्ने गरी पहिरो नजिकिँदै गएको छ । खप्तड छेडेदह गाउँपालिका–४ को पड्नापानीमा गएको पहिरो तालको किनारसम्म पुग्न लागेको उनले बताए ।

‘पहिरोले त्यहाँका करिब ७० परिवारको खेतीयोग्य जमिन बगाइसकेको छ । अहिले पहिरो तालको छेउमै पुग्न लागेकाले ताल फुट्ने जोखिम बढेको छ’, उनले भने, ‘समयमै नियन्त्रणका लागि पहल नगरिए ताल फुटेर सयौँ परिवार विस्थापित हुन सक्ने खतरा छ ।’

छेडेदह ताल खप्तड छेडेदह गाउँपालिका–४ र ७ को बीचमा अवस्थित छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड र छेडेदह तालकै नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । तर, गाउँपालिकाकै पहिचानसँग जोडिएको तालको संरक्षणमा ठोस पहल हुन नसक्दा यसको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको स्थानीयको भनाइ छ ।

खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष दलबहादुर धामीले पुर्खौंदेखि चल्दै आएको जग्गा विवादका कारण ताल संरक्षण र प्रवर्द्धनको काम अघि बढ्न नसकेको बताए ।

‘ताल वरपरको जग्गा वडा नं ४ र ७ का स्थानीयले आ–आफ्नो भएको दाबी गर्दै आएका छन्’, उनले भने, ‘जग्गासम्बन्धी विवाद समाधान नहुँदा गाउँपालिकाले तालको उचित व्यवस्थापन, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक काम गर्न सकेको छैन ।’

उनका अनुसार जग्गाधनीहरूले गाउँपालिकाले नीतिगत निर्णय गरेर जग्गाको मुआब्जा उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

खप्तड छेडेदह गाउँपालिका–७ का वडाध्यक्ष खगेन्द्र रावतले पनि स्थानीयबीच लामो समयदेखि जग्गासम्बन्धी विवाद रहँदै आएको बताए । विवाद समाधानका लागि अघिल्लो कार्यकालदेखि नै पहल भइरहेको भए पनि अहिलेसम्म निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।

गाउँपालिकाकी उपाध्यक्ष बिशुदेवी नाथले गाउँपालिकाकै नामकरणसँग जोडिएको तालको संरक्षण गर्न नसकिए भविष्यमा यसको अस्तित्व नै संकटमा पर्ने बताइन् ।

गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले जग्गा विवाद समाधान हुन नसक्दा पहिरो नियन्त्रण तथा ताल संरक्षणका काम अघि बढाउन कठिनाइ भएको बताए । यसअघि सम्बन्धित वडाका स्थानीयसँग छलफल सुरु गरिए पनि सहमति जुट्न नसकेको उनले जानकारी दिए ।

अब केही दिनभित्रै सबै पक्षलाई सहभागी गराएर व्यापक छलफल गरी विवाद समाधानको निष्कर्षमा पुग्ने प्रयास भइरहेको अध्यक्ष रावतले बताए ।

‘ताल आसपासको जग्गा नापजाँच गरी मुआब्जा पाउनुपर्ने स्थानीयको माग छ’, उनले भने, ‘जग्गा विवादकै कारण तालको अस्तित्व संकटमा पर्ने अवस्था आएको छ । अब विवादमा अल्झिनुभन्दा सबै पक्षबीच सहयोग र समन्वय गरेर संरक्षण तथा प्रवर्द्धनमा जुट्न आवश्यक छ ।’

अध्यक्ष रावतका अनुसार ताल क्षेत्रमा पूर्वाधार निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारबाट बर्सेनि सानो बजेट विनियोजन हुँदै आएको छ । ताल नजिकै पुगेको पहिरो नियन्त्रणका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरेको छ । तर, जग्गा विवादका कारण ताल संरक्षण तथा विकासको विस्तृत योजना भने बनाउन नसकिएको उनले बताए ।

छेडेदह तालको अवलोकनका लागि बाजुरासँगै बझाङ, अछामलगायत जिल्लाबाट पनि पर्यटक पुग्ने गरेका छन् । बझाङको नजिकै रहेको यो ताल मार्तडी–थामलेख तथा खप्तड–जयबागेश्वरी–डोगडी–मार्तडी सडकखण्डको आसपासमा पर्दछ । रारा–खप्तड पदयात्रासँग पनि जोडिएकाले यसको पर्यटकीय महत्त्व थप बढेको छ ।

प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाका दृष्टिले समेत छेडेदह तालको विशेष महत्त्व छ । तालको छेउमै रहेको खापर मन्दिरले यसको धार्मिक पहिचानलाई थप बलियो बनाएको छ ।

स्थानीय गणेश बुढाका अनुसार ताललाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके बाजुराको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्न सक्छ । तर, त्यसका लागि सबैभन्दा पहिले तालको संरक्षण र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ ।

तालसम्म पुग्ने सडक तथा पदमार्गको स्तरोन्नति, सुरक्षित पैदलमार्ग, विश्रामस्थल, खानेपानी, शौचालय, सूचना बोर्ड र फोहोर व्यवस्थापनजस्ता आधारभूत पूर्वाधार निर्माण गर्नुपर्ने देखिन्छ । साथै तालको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी पर्यटकीय संरचना निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

यसका लागि दीर्घकालीन गुरुयोजना निर्माण गरी आवश्यक बजेट र कार्यक्रम सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । प्राकृतिक सम्पदाका रूपमा रहेको छेडेदह ताल अहिले संरक्षण, व्यवस्थित विकास र प्रचारप्रसारको पर्खाइमा छ ।

समयमै पहिरो नियन्त्रण गरी तालको प्राकृतिक तथा धार्मिक पहिचान जोगाउन सकिए यो क्षेत्र बाजुराको प्रमुख पर्यटकीय गन्तव्य बन्नुका साथै स्थानीयको आर्थिक समृद्धिको आधारसमेत बन्न सक्ने देखिन्छ ।