पोखराले तोड्यो हारको सिलसिला, कर्णालीविरुद्ध ६३ रनले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले लगातार हारको शृङ्खला तोड्दै कर्णाली याक्समाथि ६३ रनको शानदार जित निकालेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली निर्धारित २० ओभरमा लक्ष्य भेट्टाउन असफल भयो ।

यस जितसँगै पोखराले प्रतियोगितामा महत्त्वपूर्ण दुई अंक जोडेको छ ।

पोखराले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको थियो । पोखराका लागि युवराज सिंह सम्राले विस्फोटक शतकीय इनिङ्स खेल्दै ४८ बलमा १०२ रन बनाए । उनले १० चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै कुशल भुर्तेलले ३९ बलमा ६२ रन बनाए भने कप्तान चमिका करुणारत्नेले ११ बलमा अविजित ३५ रनको योगदान दिए ।

२१८ रनको लक्ष्य पछ्याएको कर्णाली याक्स १८.३ ओभरमा १५४ रनमै समेटियो । कर्णालीका लागि पवन सर्राफले ३२ रन बनाउँदा अरिफुल इस्लामले २४ रन जोडे ।

पोखराका महेदी हसनले सर्वाधिक ३ विकेट लिए । कुशल भुर्तेल, धनञ्जय लक्षान र विपिन खत्रीले समान २ विकेट लिए ।

यो पोखराको जारी सिजनमा पहिलो जित हो । यसअघि खेलेका चारवटै खेलमा पोखरा पराजित भएको थियो ।