काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई देउसी–भैलो कार्यक्रम सञ्चालनमा समयसीमा नतोक्न निर्देशन दिएको छ ।
मन्त्रालयले सोमबार (कात्तिक २३ गते) सबै जिल्ला प्रशासन कार्यालयलाई सातबुँदे निर्देशन जारी गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा २४ सै घण्टा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउन भनेको हो ।
मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार जारी निर्देशनमा नेपाली मौलिक कला तथा संस्कृतिको संरक्षण र सामाजिक सद्भाव कायम राख्दै परम्परागत देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न सहजीकरण गर्न भनिएको छ ।
गृह मन्त्रालयका सातबुँदे निर्देशन यस्ता छन् :
1. मन्त्रालयले गत असोज २४ गते जारी गरेको सूचनाको पूर्ण रूपमा पालना गर्ने ।
2. नेपाली मौलिक कला र संस्कृतिलाई प्रोत्साहन तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा परम्परागत देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न दिने ।
3. देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित बनाउने तथा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य नपार्ने व्यवस्था मिलाउने ।
4. विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायप्रति घृणा र द्वेष फैलाउने अश्लील नृत्य, गीत, संगीत तथा नाराको प्रयोग गर्न नदिने ।
5. चाडपर्वका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक वा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने कार्य नियन्त्रण गर्ने ।
6. अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग गर्न नदिने र अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउने ।
7. सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्ने र जथाभावी फोहोरमैला नगर्ने व्यवस्था मिलाउने ।







