म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सबै सडक पुनः सञ्चालनमा आएका छन्।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध बनाएका गाउँपालिकाका आठवटै वडा तथा बस्ती जोड्ने सडक डेढ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएका हुन्।
अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनका अनुसार वडा नम्बर ५ स्थित पाउद्धार गाउँ जोड्ने सडक मर्मतको काम आइतबार सम्पन्न भएको हो।
उनका अनुसार अन्नपूर्ण गाउँपालिकाभित्र पर्ने कालीगण्डकी करिडोर गत असोज २३ गतेदेखि सञ्चालनमा आएको थियो। त्यस्तै, पाउद्धार, हिस्तान र राम्चेबाहेकका अन्य सडक दसैँअघि नै मर्मत गरी सञ्चालनमा ल्याइएको थियो।
भौगोलिक रूपमा विकट र बढी क्षति पुगेका पाउद्धार, राम्चे तथा हिस्तान जोड्ने सडकसमेत मर्मत सम्पन्न भएपछि सबै बस्ती पुनः सडक सञ्जालमा जोडिएका छन्।
सडक यातायात सञ्चालनमा आएसँगै विपद्बाट क्षतिग्रस्त खानेपानी, सिँचाइ, पदमार्ग, भवन तथा निजी आवास पुनर्निर्माणका कामलाई तीव्रता दिन सहज हुने अपेक्षा गरिएको छ।
पहिरोका कारण सडक सम्पर्कविच्छेद भएको पाउद्धार गाउँ जोड्ने पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत गर्न सम्भव नभएपछि शिखदेखि स्वाँत, किन्दु र झारवाङ हुँदै पाउद्धार पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको थियो।
पाउद्धारदेखि नेपाने जोड्ने सडकको मर्मत कार्य भने जारी रहेको उपाध्यक्ष पुनले जानकारी दिए।
बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। विपद्बाट ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
निजी आवास भत्किएर तथा जोखिममा परेपछि तीन सय परिवार प्रभावित भएको उपाध्यक्ष पुनले बताए। विपद्बाट क्षतिग्रस्त निजी आवास तथा सार्वजनिक भौतिक संरचनाको पुनर्निर्माणलाई तीव्रता दिने तयारी भइरहेको उनले जानकारी दिए।






