रसुवा । भोटेकोशी बाढीले बगाएको रसुवाको स्याफ्रुबेँसीस्थित काठे पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण गरिएको छ । पुल निर्माण सम्पन्न भएसँगै स्थानीयवासी तथा यात्रुका लागि पैदल आवतजावत सहज भएको छ ।
गत कात्तिक १४ गते भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेँसी खोलामाथि निर्माण गरिएको अस्थायी काठे पुल बगाएको थियो । त्यसपछि अवरुद्ध बनेको पैदल आवागमन पुनः सञ्चालन गर्न स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजको संयुक्त पहलमा पुल निर्माण गरिएको हो ।
गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेँसीमा नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको श्रमदान र सक्रिय सहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो ।
यसअघि गत भदौ १० गते आएको विनाशकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगको यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । लामो समयसम्म सडक तथा पैदलमार्गसमेत बन्द हुँदा गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १ देखि ५ र आमाछोदिङ्मो गाउँपालिकाका वडा नं. १ देखि ५ सम्मका बासिन्दाले आवतजावतमा ठूलो सास्ती खेप्दै आएका थिए ।
बाढीपछि अस्थायी रूपमा निर्माण गरिएको काठे पुलसमेत कात्तिक १४ गते नदीको बहाव बढ्दा बगेको थियो । अहिले पुनः पुल निर्माण भएपछि दुवै गाउँपालिकाका स्थानीयवासीसँगै त्यस क्षेत्रमा आवतजावत गर्ने यात्रुलाई राहत मिलेको छ ।
आमाछोदिङ्मो गाउँपालिका–५ का वडाध्यक्ष गोम्बोछिरिङ तामाङ (रामबहादुर)का अनुसार विभिन्न निकाय र स्थानीयको संयुक्त प्रयासमा तीन दिनमै पुल निर्माण सम्पन्न गरिएको हो ।






