टाइमको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’ले सन् २०२६ का लागि सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

जलवायु परिवर्तन र दिगो आर्थिक विकासका क्षेत्रमा उनले गरेको योगदान तथा अन्तर्राष्ट्रिय पैरवीका आधारमा वाग्लेलाई उक्त सूचीमा समावेश गरिएको हो।

रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उनले उठाएको आवाज, जलवायु वित्त जुटाउन गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारसम्बन्धी उनका विचारलाई सूचीमा समेटिनुको प्रमुख आधार मानिएको छ।

वाग्ले विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययन, नीति निर्माण तथा राजनीतिमा सक्रिय रहँदै आएका छन्।

टाइमको उक्त सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनलगायत विश्वका चर्चित व्यक्तित्वहरू पनि समेटिएका छन्।