काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ । प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जनकपुरलाई जित्नैपर्ने दबाब छ भने सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ ।
जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ । समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
यसअघिका एनपीएलका दुई संस्करणमा यी दुई टोलीबीच चार खेल भएका छन् । जसमा सुदूरपश्चिमले तीन खेल जित्दा जनकपुरले एक खेलमा मात्र जित निकालेको छ ।






