भद्रपुर (झापा) – पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढीले बढेको हो ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा रु ४९ करोड ५४ लाख ५२ हजार बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया निर्यात भएको छ ।
गत आर्थिक वर्ष २०८२/८३ को असोजमा भने रु २४ करोड ७४ लाख नौ हजार बराबरको नौ लाख दुई हजार ४४५ केजी चिया निर्यात भएको थियो । गत वर्षको तुलनामा यस वर्ष चिया निर्यातको परिमाण ९० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने निर्यातबाट प्राप्त आम्दानी पनि झण्डै दोब्बर पुगेको छ ।
काँकडभिट्टा नाकाबाट चियासँगै अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य रहेको छ । मेची भन्सार कार्यालयका अनुसार गत असोज महिनामा रु ९८ करोड ८८ लाख ८४ हजार बराबरको अलैँची तथा रु ४४ करोड २३ लाख ४८ हजार बराबरको प्लाइउड निर्यात भएको छ ।
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ र झापामा उत्पादित चिया काँकडभिट्टा नाका हुँदै मुख्य रूपमा भारतीय बजारमा निर्यात हुने गरेको छ ।






