मकै र भटमासको मूल्य बृद्धि : पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो

चितवन– विदेशबाट आयात हुने मकै र भटमासको मूल्यमा उल्लेख्य वृद्धि भएपछि नेपालमा पशुपन्छीको दाना उत्पादन लागत बढेको छ। कच्चा पदार्थको मूल्य बढेसँगै दाना उद्योगले मूल्य वृद्धि गरेका छन्। यसबाट कुखुरा, अण्डा, दूध, माछा तथा मासुको उत्पादन लागत बढ्ने र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने देखिएको छ।

नेपाल दाना उद्योग संघका केन्द्रीय अध्यक्ष उमेश सापकोटाका अनुसार १५ दिनअघि प्रतिकिलो ३९ रुपैयाँमा खरिद हुँदै आएको भारतीय मकैको मूल्य अहिले बढेर ५४ रुपैयाँ पुगेको छ। यसैगरी, नेपाली मकैको मूल्य प्रतिकिलो ३६ रुपैयाँबाट बढेर ५० रुपैयाँभन्दा माथि पुगेको छ।

त्यस्तै, अमेरिका र बङ्गलादेशबाट आयात हुने भटमासको पिनाको मूल्य प्रतिकिलो ८७/८८ रुपैयाँबाट बढेर ९५/९६ रुपैयाँ पुगेको छ। ढुटोको मूल्यसमेत प्रतिकिलो ३५ रुपैयाँबाट बढेर ४७ रुपैयाँ पुगेको छ।

नेपालमा मकै र भटमासको पिना मुख्य रूपमा कुखुराको दाना उत्पादनमा प्रयोग हुने गर्छ। कुखुराको दानामा ५० देखि ६० प्रतिशत मकै र २५ प्रतिशत भटमासको पिना प्रयोग हुने गरेको छ। यसबाहेक तोरीको पिना, डिसिपी, ढुटो, मार्बल डस्ट, मिनरल र भिटामिन पनि प्रयोग गरिन्छ।

सापकोटाका अनुसार कच्चा पदार्थको मूल्य वृद्धिका कारण दानाको उत्पादन लागत करिब १५ प्रतिशतले बढेको छ। भटमासको पिना आयात गर्दा यसअघि ६० दिन लाग्ने गरेकामा अहिले ९० दिनसम्म लाग्न थालेको छ। यसले आयात तथा ढुवानी खर्चसमेत बढाएको उनले बताए।

नेपालमा वार्षिक तीन लाख ५० हजार मेट्रिक टन भटमासजन्य पदार्थ खपत हुने गरेको छ। यसको सम्पूर्ण परिमाण तेस्रो मुलुकबाट आयात गरिन्छ। यस्तै, वार्षिक छ लाख ५० हजारदेखि सात लाख मेट्रिक टनसम्म मकै खपत हुने गरेको छ। त्यसमध्ये १५ देखि २० प्रतिशत भारतबाट आयात हुने र बाँकी स्वदेशी उत्पादनले धान्ने गरेको छ।

भारतमा मकैको मूल्य बढेपछि कुखुराको दानामा प्रयोग नहुने कम गुणस्तरको मकैसमेत इथानोल उत्पादनका लागि भारत निर्यात हुन थालेको सापकोटाले जानकारी दिए।

कच्चा पदार्थको मूल्य बढेपछि दाना उत्पादकले ब्रोइलर कुखुराको दानामा प्रतिकिलो पाँच रुपैयाँ र लेयर्स कुखुराको दानामा चार रुपैयाँ मूल्य वृद्धि गरेका छन्। हाल दानाको मूल्य प्रतिकिलो ५५ देखि ७५ रुपैयाँसम्म पुगेको छ।

सापकोटाले तत्कालीन राहतका लागि दानाको मूल्य बढाइए पनि वास्तविक उत्पादन लागत धान्न कठिन भइरहेको बताए। लागतअनुसार मूल्य समायोजन हुन नसकेकाले दानाको मूल्य अझै बढ्न सक्ने उनको भनाइ छ।

यसैगरी, दानाको मूल्य वृद्धिले अण्डा उत्पादन लागतसमेत बढाएको छ। नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दानाको मूल्य बढ्दा अण्डा उत्पादन लागत प्रतिगोटा दुईदेखि तीन रुपैयाँसम्म वृद्धि भएको छ।

यसअघि बजार मूल्यलाई आधार मानेर अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा निर्धारण गरिएको थियो। तर दानाको मूल्य प्रतिकिलो करिब १० रुपैयाँले बढ्ने भएपछि अण्डाको लागत पनि बढेको पोखरेलले बताए।

लागत मूल्यसमेत नपाउँदा धेरै किसान व्यवसायबाट विस्थापित भइरहेको अवस्थामा दानाको मूल्य बढेपछि अण्डा उत्पादक किसान थप संकटमा परेको उनको भनाइ छ।

“छिट्टै किसानलाई लागत मूल्य पाउने वातावरण बनाउन सकिएन भने बाँकी रहेका अण्डा उत्पादक किसान पनि विस्थापित हुन्छन्,” उनले भने।

उनका अनुसार नेपालमा लेयर्स कुखुरापालन गर्ने ७५ प्रतिशतभन्दा बढी किसान विस्थापित भइसकेका छन्। पुराना किसानले लगानी थप्नु र नयाँ किसान व्यवसायमा प्रवेश गर्नुका कारण उत्पादन बढेकाले हाल बजारको माग धान्न सम्भव भएको उनले बताए।

यस्तै, ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले दानाको मूल्य बढ्दा चल्ला तथा मासु उत्पादनको लागतसमेत वृद्धि भएको बताए।

उनका अनुसार जिउँदो कुखुराको उत्पादन लागत प्रतिकिलो २१० रुपैयाँ हाराहारीबाट बढेर २३० रुपैयाँभन्दा माथि पुगेको छ। लेयर्स कुखुराको चल्लाको लागत प्रतिगोटा १२० रुपैयाँबाट बढेर १५० रुपैयाँ पुगेको छ भने ब्रोइलर चल्लाको लागत ६५ रुपैयाँबाट बढेर ८० रुपैयाँ पुगेको छ।

लामिछानेले दानाको कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढ्दा पशुपन्छीजन्य उत्पादनको लागतमा व्यापक वृद्धि भएको बताए। यसको असर गाईभैँसीको दूध, माछा र बङ्गुरको उत्पादन लागतमा समेत परेको छ।

कच्चा पदार्थको मूल्य वृद्धिले समग्र पशुपन्छीजन्य उत्पादन महँगिने अवस्था सिर्जना भएको र त्यसको प्रभाव बजारमा देखिन थालेको किसान तथा व्यवसायीले बताएका छन्।