काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
नेपाल संवत्को नयाँ वर्ष प्रारम्भ भएको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग अभिन्न रूपमा जोडिएको बताएका छन्।
उनले आफू नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरणसमेत गरेका छन्।
राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको प्रशंसा गर्दै दाहालले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावनालाई थप मजबुत बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
इतिहासअनुसार शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनतालाई ऋणमुक्त गराएर नेपाल संवत् प्रारम्भ गराएका थिए। लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ।






