काठमाडौं । प्रहरीले देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ११० जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट लाखौँ रुपैयाँ नगद, तासका बुक र कौडा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ टनागाउँबाट सोमबार दिउँसो जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–८ निवासी ४५ वर्षीय राजेश नगरकोटीसमेत रहेका छन्। उनीहरूको साथबाट ५६ हजार ५४० रुपैयाँ नगद र ६ बुक तास बरामद गरिएको छ।
त्यस्तै, चितवनको रत्ननगर नगरपालिका–१६ हात्तीगाडेबाट कौडा खेलिरहेको अवस्थामा ३४ वर्षीय माधव थापा मगरसहित ६ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले उनीहरूको साथबाट ५२ हजार ६१५ रुपैयाँ र १६ थान कौडा बरामद गरेको हो।
चितवनकै भरतपुर महानगरपालिका–७ निवासी ३८ वर्षीय डिलाराम चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा डिलारामसहित सात जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ लाख ३७ हजार ४८० रुपैयाँ र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, भरतपुर महानगरपालिका–१२ सहयोगी टोलबाट कौडा खेलिरहेको अवस्थामा गोविन्द मगरसहित दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ३६ हजार ११० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको छ।
धनकुटाको पाख्रीबास नगरपालिका–९ निवासी ५५ वर्षीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको अवस्थामा विष्णुसहित सात जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट एक लाख सात हजार ३१५ रुपैयाँ र ३० थान कौडा बरामद गरेको छ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ एसएस चोकनजिक तास खेलिरहेको अवस्थामा सुजन तामाङसहित नौ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ९९ हजार १५० रुपैयाँ र एक बुक तास बरामद भएको छ।
त्यस्तै, भक्तपुरकै चाँगुनारायण नगरपालिका–७ बागेश्वरी पकरीटोलबाट तास खेलिरहेको अवस्थामा ३३ वर्षीय दीपेश लामिछानेसहित १५ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ९७ हजार रुपैयाँ र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
झापाको कमल गाउँपालिका–५ टुक्रे निवासी ४५ वर्षीया गीता भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट एक लाख १८ हजार २०० रुपैयाँ र पाँच बुक तास बरामद गरेको छ।
यसैगरी, झापाको दमक नगरपालिका–१० बाट कौडा खेलिरहेको अवस्थामा ५४ वर्षीय काजिम थापासहित १० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ८९ हजार ७१० रुपैयाँ र १५ थान कौडा बरामद भएको छ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ शिवचोकबाट तास खेलिरहेको अवस्थामा ५२ वर्षीय सञ्जय पंजियारसहित पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ६७ हजार ५०० रुपैयाँ र एक बुक तास बरामद गरिएको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–७ चौरीगाउँ निवासी ४१ वर्षीय विष्णु थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णुसहित चार जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ७८ हजार ४८५ रुपैयाँ र तीन बुक तास बरामद गरेको छ।
सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियाबाट कौडा खेलिरहेको अवस्थामा लालकृष्ण गुरुङसहित दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ३६ हजार ५५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ।
त्यस्तै, सर्लाहीकै लालबन्दी नगरपालिका–४ हरिभवन टोलस्थित ४० वर्षीय भुवनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा भुवनसहित नौ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ६२ हजार रुपैयाँ, छ बुक तास र १६ थान कौडा बरामद गरेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ पुष्पलाल चोक निवासी ५३ वर्षीय रवीन्द्र केसीको घरमा कौडा खेलिरहेको अवस्थामा रवीन्द्रसहित छ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट एक लाख ४७ हजार २५६ रुपैयाँ र तीन थान कौडा बरामद गरिएको छ।
यसैगरी, कास्कीको पोखरा महानगरपालिका–१८ अँधेरीकुनास्थित डेरामा जुवातास खेलिरहेको अवस्थामा म्याग्दीका ४८ वर्षीय केशर रानासहित छ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूको साथबाट ६३ हजार ५२५ रुपैयाँ र चार बुक तास बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।






