सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार जारी खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय २१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले सर्वाधिक ३३ रन बनाए । २३ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, थरिन्दु रत्नायकले २७, आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ जैब र विनोद भण्डारीले समान १० रनको योगदान दिए ।

बलिङतर्फ जनकपुर बोल्ट्सका हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । त्यस्तै, अभिषेक तिवारी, आदित्य महता, राहुल यादव र ह्यारी टेक्टरले समान एक–एक विकेट हात पारे ।

लिगमा ६ अंक जोडेको सुदूरपश्चिम रोयल्स तेस्रो स्थानमा छ भने ४ अंक रहेको जनकपुर बोल्ट्स पाँचौँ स्थानमा रहेको छ ।