काठमाडौं: दिदीबहिनी र दाजुभाइ नहुनेहरूका लागि भाइटीकाको दिन काठमाडौंको रानीपोखरीमा अवस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एक पटक भाइटीकाको दिन मात्र खुल्ने यस मन्दिरमा दाजुभाइ वा दिदीबहिनी नहुने व्यक्तिहरूले पूजा तथा दर्शन गर्ने गर्दछन्। काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार मन्दिर खुला गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ।
त्यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले पूजा र दर्शन गरी टीका लगाउने परम्परा रहेको छ। संस्कृतिविद् तथा गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा मानिसहरू हामफालेर मन्दिर प्रवेश गर्ने समस्याका कारण मन्दिर बन्द गरिन्थ्यो। त्यसबेला भक्तजनहरू खञ्जनेश्वर महादेव मन्दिरमा भेला हुने गर्दथे।
विसं २०३५ पछि बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि विसं २०७७ सम्म भक्तजनहरू खञ्जनेश्वर महादेव मन्दिरमा जाने गरेका थिए। पुनर्निर्माणपश्चात् विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः खुला गरिएको छ। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्दछन्। भक्तपुरका नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णय अनुसार हिजो नै किजापूजा सम्पन्न गरिसकेका छन्।






