काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा विधिपूर्वक भाइटीका लगाएका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेललाई बहिनी शारदाले ओखर, बदामसहितका फलफूल र सौगात प्रदान गरिन्। राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार र दक्षिणा प्रदान गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले आज भाइटीकाको उत्तम साइत ११ बजेर ७ मिनेटमा रहेको जनाएको थियो । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ।






