दुई करोड बजेटमा दमौली खेलमैदान स्तरोन्नति गरिने

तनहुँ– ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधारको अभावमा सेभेन ए साइड फुटबल प्रतियोगितामा सीमित हुँदै आएको दमौलीस्थित खेलमैदान स्तरोन्नति हुने भएको छ ।

व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिकामा रहेको खेलमैदानलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन सङ्घीय सरकारले दुई करोड रुपैयाँ बजेट विनियोजन गरेपछि स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको हो ।

खेलमैदान स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । विनियोजित बजेटबाट मैदानको भौतिक अवस्था सुधार गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिने योजना छ ।

नगर खेलकुद समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले सङ्घीय सरकारबाट प्राप्त बजेट कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार नगरपालिकाको बजेटबाट यसअघि नै खेलमैदानमा प्यारापिट निर्माण भइसकेको छ । अब मैदानको स्तरोन्नति गरी प्रतियोगिता सञ्चालनका लागि आवश्यक थप पूर्वाधार निर्माण गरिनेछ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमैदान रहेको जग्गा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउने प्रयास भइरहेको बताए । आवश्यक पूर्वाधार निर्माण भएपछि खेलमैदान सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।

हाल दमौली खेलमैदानमा पूर्वाधार अभावका कारण ठूला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । यहाँ मुख्यतः सेभेन ए साइड फुटबल प्रतियोगिता मात्रै सञ्चालन हुने गरेको छ । मैदानको स्तरोन्नति र आवश्यक संरचना निर्माणपछि जिल्लास्तरीय तथा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने अपेक्षा गरिएको छ ।

खेलमैदानको स्तरोन्नतिले स्थानीय खेलाडीलाई नियमित अभ्यास तथा प्रतिस्पर्धाको अवसर उपलब्ध गराउनुका साथै व्यास नगरपालिकाको खेलकुद विकासमा समेत योगदान पुग्ने खेलकुद समितिका अध्यक्ष गुरुङले बताए ।

दमौलीका युवा भुवन गोशलीले वर्षौंदेखि युवाहरूले देखेको व्यवस्थित फुटबल मैदानको सपना पूरा हुने दिशामा बजेट विनियोजन हुनु सकारात्मक भएको बताए । खेलकुद पूर्वाधारको विकासले युवालाई सकारात्मक गतिविधिमा संलग्न गराउन र दमौलीलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

उनले खेलमैदान निर्माणका लागि बजेट सुनिश्चित भएपछि खेलप्रेमी युवामा नयाँ उत्साह थपिएको बताए ।