मकवानपुर । सडकको छेउमा एउटा टोकरी थियो। टोकरीमा तरकारीका साना–साना बिरुवा थिए। किशोरावस्थामै रहेका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्थे। दिउँसो ४ बजे विद्यालय छुट्थ्यो। त्यसपछि उनको अर्को पाठशाला सुरु हुन्थ्यो–माटो, बिरुवा र ग्राहकको व्यवहार बुझ्ने पाठशाला।
त्यो विसं २०४५ सालतिरको कुरा हो। हेटौँडाको राप्ती रोडमा रात्रिकालीन बस सञ्चालन हुन्थे। सडकमा मानिसको आवतजावत बाक्लिँदै जान्थ्यो। हरिशरण भने द्वारिका र प्रेम श्रेष्ठको घरअगाडि सडकपेटीमा बसेर बिरुवा बेच्थे। राति अबेरसम्म ग्राहकको प्रतीक्षा गर्दै समय बिताउँथे। जाडो बढ्दा सडकपेटीमै सुतेर बिहान फेरि त्यही काममा फर्किनुपरेका तीतामीठा अनुभव उनीसँग छन्।
त्यतिबेला नर्सरी व्यवसाय आजजस्तो सहज थिएन। तर हरिशरणले बोटबिरुवामै आफ्नो भविष्य देखेका थिए। आफूले बेचेका बिरुवाबाट कसैले फल पाउँथे, कसैले घरआँगन हरियो बनाउँथे त कसैले खेतबारीमा आम्दानीको स्रोत बढाउँथे। जीवनका ३७ वर्ष माटो र बोटबिरुवासँग बिताएका हरिशरणको परिचय अहिले ‘गौतम नर्सरी’का सञ्चालकका रूपमा स्थापित भएको छ। सडकपेटीबाट सुरु भएको उनको यात्रा आज विश्वासिलो व्यावसायिक पहिचानमा परिणत भएको छ।
मकवानपुरको हाडीखोलामा उनको पुर्ख्यौली परिवार कृषि पेसामै निर्भर थियो। पछि परिवार हेटौँडा बजारतर्फ सर्यो। तर हरिशरण र उनको परिवारको खेतीपाती तथा बोटबिरुवासँगको सम्बन्ध टुटेन। उनले सानैदेखि बिरुवा स्याहार्न सिके। विद्यालय पढ्दै गर्दा बिरुवा उत्पादन र बिक्रीमा रुचि बढाउँदै लगे।
त्यतिबेला उनका बुबाले पाँच रुपैयाँमा दुईवटा कागतीका बिरुवा बेच्थे। हरिशरण भने पाँचवटा तरकारीका बिरुवा एक रुपैयाँमा बिक्री गर्थे। अहिले त्यो मूल्य सुन्दा सामान्य लाग्न सक्छ। तर त्यही सानो कारोबारबाट सुरु भएको उनको नर्सरी व्यवसायले आज ठूलो आकार लिएको छ।
हरिशरण सुरुआती दिनका अनुभव अझै झलझली सम्झन्छन्। उनका बुबाले ग्राहकलाई ‘तीन वर्षपछि फल्छ’ भन्दै बेच्ने गरेका कागतीका बिरुवामध्ये कतिपय अहिले ३० देखि ३५ वर्ष पुराना भएर विशाल रूख बनेका छन्। एउटै बोटमा ७०–८० किलोदेखि एक क्विन्टलसम्म कागती फल्ने गरेको उनी सुनाउँछन्।
उनलाई अझ खुसी लाग्ने कुरा के छ भने ती बिरुवा किन्ने परिवारका सन्तान र नातिनातिनासमेत अहिले गौतम नर्सरीमा बिरुवा किन्न आइपुग्छन्। एउटा बिरुवाबाट सुरु भएको विश्वास पुस्तान्तरण हुँदै गएको देख्दा उनी दङ्ग पर्छन्।
हरिशरणको सफलताको जगमा पारिवारिक साथ पनि उत्तिकै महत्त्वपूर्ण छ। उनका बुबा तरकारीका बिरुवाको काम गर्थे भने उनी फूल तथा अन्य बिरुवाको काम सम्हाल्थे। बुबाले बिरुवा सार्दा उनले पानी हाल्थे। बुबाले बिरुवा मिलाउँदा उनी टोकरीमा प्याक गर्थे। बोटबिरुवाको काम गर्न उनलाई बुबाले भनिरहनुपर्दैनथ्यो।
“कसैले कसैलाई अह्राउनु पर्दैनथ्यो। आ–आफ्नो काम स्वतन्त्र भएर गर्थ्यौं”, उनी ती दिन सम्झन्छन्। पारिवारिक सहकार्य र स्वतन्त्र कार्यशैलीले उनलाई व्यवसायप्रति थप जिम्मेवार बनाउँदै लग्यो।
घरेलु तथा साना उद्योग कार्यालय, हेटौँडामा विसं २०५०/५१ तिर उनको व्यवसाय दर्ता भयो। त्यसपछि २०५२ सालमा आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएर उनले नर्सरीलाई औपचारिक व्यावसायिक स्वरूप दिए। तर व्यवसाय दर्ता गर्नु र त्यसलाई निरन्तरता दिनु सहज थिएन।
त्यतिबेला देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो। रोजगारीका अवसर सीमित थिए भने विदेश जाने लहर बढिरहेको थियो। हरिशरणलाई पनि धेरैले विदेश जान सुझाव दिए।
“यहाँ बुबाले धानिहाल्नुहुन्छ। विदेश गए मासिक ५० हजार रुपैयाँ सजिलै कमाउन सकिन्छ”, चिनजानका मानिसहरूले उनलाई भन्ने गर्थे।
तर उनलाई गाउँघर र परिवार छाडेर टाढा जान मन लागेन। विदेशमा राम्रो कमाइ भए पनि वृद्ध बाबुआमा, दिदीबहिनी र आफन्तबाट टाढिनुपर्ने उनको चिन्ता थियो। दसैँ, तिहार र तीजजस्ता चाडपर्व परिवारसँग मनाउने अवसरसमेत छुट्ने थियो। त्यसैले उनले विदेशको कमाइभन्दा आफ्नै माटोलाई रोजे।
उनलाई विश्वास थियो–मेहनत गर्ने हो भने आफ्नै ठाउँमा पनि विदेशमा भन्दा बढी कमाउन सकिन्छ। आफ्नै माटोमा केही गर्ने त्यही अठोट आज उनको व्यावसायिक सफलताको आधार बनेको छ।
माटो र बोटबिरुवासँग रमाउँदै बिताएका ३७ वर्षमा उनले पैसा मात्र कमाएनन्, अनुभव र सम्बन्ध पनि विस्तार गरे। विभिन्न क्षेत्रका मानिस तथा सरकारी कार्यालयसँग उनको सम्बन्ध स्थापित भयो। नर्सरी व्यवसायमा छुट्टै पहिचान बनाउन उनी सफल भए।
हेटौँडा–१० मेनरोडमा रहेको उनको नर्सरीमा अहिले दैनिक औसत ५० देखि ६० जना ग्राहक पुग्छन्। उनी बिरुवा बेचेर मात्र बस्दैनन्। किसान वा सेवाग्राहीलाई बिरुवासम्बन्धी समस्या परे आफैँ खेतबारी तथा कार्यस्थलमा पुगेर आवश्यक सल्लाह दिन्छन्। कुन ठाउँमा कुन बिरुवा उपयुक्त हुन्छ, कसरी रोप्ने, कसरी हुर्काउने र कसरी उत्पादन लिने भन्ने विषयमा आफ्नो अनुभव बाँड्छन्।
गौतम नर्सरीबाट वार्षिक करिब १५ देखि २० लाख रुपैयाँको कारोबार हुने गरेको छ। विगतमा भाडामा लिएको डेढ कठ्ठा जग्गा अहिले आफ्नै नाममा छ। त्यही जग्गामा उनले बलियो घरसमेत बनाएका छन्।
व्यवसाय सुरु गर्दा चार हजार रुपैयाँ रहेको लगानी अहिले १५ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अन्य पेसामा जस्तो एकैपटक ठूलो आर्थिक आम्दानी नहुने भए पनि नर्सरी व्यवसायबाट आत्मनिर्भर भएर परिवार चलाउन सकिने उनको अनुभव छ।
बिहान उठेदेखि बेलुका नसुतुञ्जेलसम्म हरिशरण नर्सरीकै बोटबिरुवासँग रमाउँछन्। फूल, फलफूल, जडीबुटी, तरकारी तथा सजावटका बिरुवाको हेरचाह, गोडमेल, काँटछाँट र सिँचाइमै उनको दिन बित्छ।
अहिले उनको नर्सरीमा मौसमी तथा सदाबहार फूलका बिरुवामा सयपत्री, गोदावरी, लाहुरे, पिटुनिया र सेतोचाँप छन्। फलफूलतर्फ सधैँ फल्ने आँप, काजु, जामुन, सपाट, लिची, मलेसियाबाट ल्याइने रामबुतान, थाइल्याण्डबाट ल्याइने क्यान्सर किलर, ब्ल्याकबेरी तथा कम चिसोमा पनि फल्ने स्याउका बिरुवा उपलब्ध छन्।
त्यस्तै, जडीबुटीतर्फ रक्तचन्दन, ल्वाङ, जायफल, अश्वगन्धा, सर्पगन्धा र दालचिनीका बिरुवा छन्। तरकारीका बिरुवामा काउली, बन्दा, गोलभेँडा, भन्टा, लसुन, प्याज र आलु रहेका छन्।
घरआँगन तथा सरकारी कार्यालय सजावटका लागि एरिका पाम, चाइना पाम, चाइना डल, लक्मी, बेम्बो, सेफलेरिया, सिमोनी, एग्लोनिमा, फिलोडेन्ड्रन र क्रिसमस ट्रीलगायतका बिरुवा पनि उनले आकर्षक ढङ्गले सजाएर राखेका छन्। काठ तथा ढुङ्गाबाट बनेका सजावटी सामग्रीसँग मिलाएर बिरुवालाई थप आकर्षक बनाउने गरिएको छ।
हरिशरणका अनुसार हेटौँडाका करिब १० वटा नर्सरीले समग्रमा वार्षिक तीनदेखि चार करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएका छन्। उनी आफ्नो व्यवसायमा मात्र सीमित छैनन्। मकवानपुरका विकट गाउँमा रोजगारी र आम्दानीका नयाँ विकल्प खोज्नुपर्ने उनको सोच छ।
कैलाश, राक्सिराङ र मनहरीका केही क्षेत्रमा क्षणिक लाभका लागि गाँजा तथा अफिमखेतीमा मानिस लाग्ने गरेकोप्रति उनलाई दुःख लाग्छ। त्यस्ता क्षेत्रको जग्गामा व्यावसायिक रूपमा फलफूल तथा बहुमूल्य वनस्पति खेती गर्न सके राम्रो आम्दानी लिन सकिने उनको सुझाव छ।
“यदि त्यही जमिनमा दीर्घकालीन आम्दानी दिने वनस्पति र फलफूल लगाउन सकिन्छ भने किन जोखिमपूर्ण बाटो रोज्ने ?” उनी प्रश्न गर्छन्।
नर्सरी व्यवसाय केही महिना वा वर्षको मात्र नभई वर्षभरि चल्ने पेसा भएको उनको तर्क छ। “यो व्यवसाय भनेको ३६५ दिनको कर्म हो। जन्मदेखि मृत्युसम्म, विवाहदेखि नयाँ घर निर्माणसम्म, उत्सवदेखि सरकारी कार्यालयको सजावटसम्म हरियाली र फूलको आवश्यकता पर्छ”, उनी भन्छन्।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय, मन्त्रालयलगायत विभिन्न सरकारी कार्यालयमा समेत गौतम नर्सरीबाट बिरुवा आपूर्ति तथा बगैँचा व्यवस्थापनको काम हुँदै आएको छ।
तर हरिशरणको व्यावसायिक यात्रा सधैँ सफलतामै सीमित रहेन। विसं २०६२/६३ देखि २०६५/६६ सम्म उनले हेटौँडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल स्मृति पार्कको पोखरी व्यवस्थापनको जिम्मेवारी लिएका थिए। पोखरीमा वर्षभरि पानी जमाउने, डुङ्गा सञ्चालन गर्ने, माछापालन गर्ने र त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उनको सपना थियो।
त्यही योजनाअनुसार उनले पोखरीमा १७ हजार मागुर माछाका भुरा हाले। तर बर्खायाममा पोखरीमा पानीको सतह बढेर ओभरफ्लो भयो। उनका सबै माछा बगेर गए। माछासँगै उनले देखेका सपना पनि बगेर गए।
माछापालनको योजना असफल भए पनि सम्भावनाको खोजी गर्ने उनको सोच मरेन। त्यसपछि उनले अर्को महत्त्वाकाङ्क्षी योजना अघि बढाए। पोखरी परिसरमा वर्णानुक्रमअनुसार ५२५ जातका दुर्लभ जडीबुटी रोपे। प्रत्येक बिरुवामा नेपाली, संस्कृत, अङ्ग्रेजी र वैज्ञानिक नाम लेखिएका एल्युमिनियमका प्लेट राखिएका थिए।
उनको परिकल्पना उक्त क्षेत्रलाई नयाँ पुस्ता, वन विज्ञान तथा कृषि अध्ययन गर्ने विद्यार्थीका लागि खुला हर्बेरियम म्युजियमका रूपमा विकास गर्ने थियो। तर उनले सोचेजस्तो संस्थागत सहयोग प्राप्त गर्न सकेनन्।
सुरक्षाकर्मीको सरसफाइ अभियानका क्रममा जडीबुटीका बिरुवालाई समेत झाडी ठानेर काटियो। यससँगै उनले देखेको सम्भावनाको योजना पनि अधुरै रह्यो।
यद्यपि त्यतिबेला रोपिएका बिरुवामध्ये अझै जीवित रहेको रक्तचन्दनको एउटा रूख देख्दा उनलाई खुसी लाग्छ। काटिएर ठुटो बनेको उक्त बिरुवा पुनः पलाएर हुर्किएको छ। अहिले पनि त्यहाँ उभिएको रक्तचन्दनले तराई–मधेसको भूगोलमा समेत यस्तो वनस्पति हुर्काउन सकिन्छ भन्ने प्रमाण दिएको उनको भनाइ छ। उनका लागि त्यो अनुभव असफलताभन्दा पनि सिकाइ बनेको छ।
मकवानपुरका विभिन्न क्षेत्रमा व्यावसायिक खेतीको सम्भावना देखेका हरिशरणले कैलाशमा बुद्धचित्त खेतीको राम्रो सम्भावना रहेको बताउँछन्। एउटै बोटबाट ११ लाख रुपैयाँसम्मको उत्पादन भएको उदाहरण आफूले देखेको उनको भनाइ छ।
त्यस्तै, राक्सिराङ र मनहरीमा काजु खेतीको सम्भावना रहेको उनी बताउँछन्। चारदेखि पाँच वर्षपछि एउटै काजुको बोटबाट करिब २० किलो उत्पादन लिन सकिने र त्यसबाट वार्षिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको आकलन छ।
मनहरी र राक्सिराङमा रातो केराको खेती पनि सम्भावनायुक्त रहेको उनको बुझाइ छ। करिब १८ महिनामै उत्पादन दिन सक्ने यस्तो खेती किसानका लागि उपयोगी हुन सक्छ। त्यस्तै, १५ देखि २० वर्षमा तयार हुने रक्तचन्दन र अगरउडजस्ता बहुमूल्य वनस्पतिलाई दीर्घकालीन लगानीका रूपमा विकास गर्न सकिने उनी बताउँछन्।
सिम्भञ्ज्याङ र चुनियाँजस्ता चिसा लेकाली क्षेत्रमा किबी तथा तल्लो भेगमा ड्रागन फ्रुटको व्यावसायिक सम्भावना स्थापित भइसकेको उनको भनाइ छ।
हरिशरण सरकारले किसानलाई परम्परागत शैलीमा सिसौ, खयर वा केही आँप र लिचीका बिरुवा बाँडेर मात्र आफ्नो जिम्मेवारी पूरा भएको ठान्न नहुने बताउँछन्। किसानलाई अनुदानभन्दा निब्र्याजी ऋण, आवश्यक तालिम र व्यावसायिक खेती सुरु गर्न खोज्नेलाई प्रारम्भिक आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने उनको सुझाव छ।
गाउँमै व्यावसायिक खेती गर्ने वातावरण बनाउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना हुने र युवालाई विदेश पलायन हुनुपर्ने बाध्यता कम हुने उनको विश्वास छ।
“त्यसो गर्न सके आफ्नै गाउँठाउँको माटो मलिलो हुन्थ्यो, हरिया बोटबिरुवाले गाउँघर हरियाली बन्थ्यो भने रोजगारीका लागि कुनै पनि नेपाली युवा बाध्य भएर विदेश जानुपर्दैनथ्यो”, उनी भन्छन्।
सडकपेटीमा टोकरीभरि बिरुवा राखेर बिक्री सुरु गरेका हरिशरणका लागि आज नर्सरी केवल आम्दानीको माध्यम होइन, जीवनको अभिन्न हिस्सा बनेको छ। उनको ३७ वर्ष लामो यात्रा एउटा सन्देश पनि हो–आफ्नै माटोमा पसिना बगाउन सके सम्भावनाका बिरुवा आफ्नै आँगनमा हुर्काउन सकिन्छ।






