सन्दीपको ह्याट्रिकसहित ६ विकेट, पोखराले विराटनगरलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्ध पोखरा एभेन्जर्सले १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रनमा समेटिएको हो।

पोखराका लागि ओपनर युवराज साम्राले उत्कृष्ट ब्याटिङ गर्दै ८४ रन बनाए। उनले ४७ बलमा ५ छक्का र ७ चौका प्रहार गरे। सुरुवातदेखि नै लगातार विकेट गुमाएको पोखराको इनिङ्स साम्राले सम्हाले पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

धनञ्जय लक्षणले २२ र सन्नी बिकले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

विराटनगरका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिए। उनले १४.३ ओभरमा युवराज साम्रालाई ८४ रनमा आउट गरेपछि १४.४ ओभरमा पोखराका कप्तान चामिका करुणारत्नेलाई र १४.५ ओभरमा किरण ठगुन्नालाई गोल्डेन डकमा आउट गर्दै ह्याट्रिक पूरा गरे।

यससँगै सन्दीप जारी एनपीएलमा ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्। उनी यस सिजन एकै खेलमा पाँचभन्दा बढी विकेट लिने पहिलो खेलाडीसमेत बनेका छन्।

विराटनगरका लागि थप विकेट एन्जेलो म्याथ्युज र चरिथ असलंकाले लिए।

पाँच खेलबाट चार अंक जोडेको विराटनगर छैटौँ स्थानमा छ भने दुई अंकसहित पोखरा तालिकाको पुछारमा छ। प्लेअफमा पुग्ने सम्भावना कायम राख्न विराटनगरलाई आजको खेल जित्नैपर्ने दबाब छ।