काठमाडौं: भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा ज्यान गुमाउनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।
शुक्रबार मणिपुरको उखरुल जिल्लास्थित नेसनल हाइवे-२०२ मा पर्ने न्यु हेभननजिकै दुईवटा सवारीसाधनमाथि आक्रमण भएको हो। उक्त स्थान राज्यको राजधानी इम्फालबाट करिब ८२ किलोमिटर उत्तरपूर्वमा पर्छ। प्रहरीका अनुसार नागा समुदायका नागरिकहरू सवार ती सवारीसाधन इम्फालतर्फ जाँदै गर्दा बन्दुकधारीहरूले उनीहरूमाथि गोली चलाएका थिए।
घटनालगत्तै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी, सीमा सुरक्षा बल (बीएसएफ), भारतीय सेना तथा असम राइफल्सका सुरक्षाकर्मीहरूलाई घटनास्थल र आसपासका क्षेत्रमा परिचालन गरिएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न खोजी अभियान सञ्चालन गरिएको प्रहरी प्रवक्ताले बताएका छन्। थप अप्रिय घटना हुन नदिन सुरक्षा निकायले निगरानी बढाएको छ भने आक्रमणकारीहरूको खोजी कार्य जारी छ।






