नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ३७.३५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशतले बढी हो। त्यस्तै, कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४० रुपैयाँ ४५ पैसा कायम भएको छ।

टेलिकमका अनुसार कर्मचारीको तलब स्केल समायोजनका कारण खर्च बढे पनि ह्रास खर्चमा आएको कमी र मूल्यह्रास क्षति फिर्ता समायोजनका कारण कुल खुद खर्च ५.९० प्रतिशतले घटेको छ।

यद्यपि, प्राकृतिक विपद्का कारण कम्पनीको सेवा सञ्चालन र राजस्वमा प्रतिकूल प्रभाव परेको छ। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले सेवा अवरुद्ध हुँदा व्यावसायिक गतिविधि प्रभावित भएको कम्पनीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा उपलब्ध गराउँदा कम्पनीको राजस्वमा समेत असर परेको थियो।

विपरीत परिस्थितिका बाबजुद जीएसएम र एफटीटीएच सेवाबाट प्राप्त सञ्चालन राजस्वमा भएको वृद्धिले कम्पनीको आम्दानीमा सकारात्मक योगदान पुर्‍याएको छ।

त्यस्तै, कम्पनीको करअघिको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६५ प्रतिशतले बढेर २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

टेलिकमले दुर्गम क्षेत्रमा सेवा विस्तार, सेवाको गुणस्तर सुधार तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।