काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया आगामी मंसिर ४ गतेदेखि सुरु हुने भएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन् भने अन्य प्रतिनिधि सक्रिय सदस्यहरूमध्येबाट निर्वाचित गरिनेछन्।
श्रेष्ठका अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुनेछन्।
पदेन प्रतिनिधिबाहेक प्रदेशसभा निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि छनोट गरिने व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट महिला तीन जना, उत्पीडित समुदायबाट एक जना तथा आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी दुई जनासहित कुल नौ जना प्रतिनिधि निर्वाचित हुनेछन्।
त्यसैगरी, सबै प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने प्रतिनिधिमा ४० वर्षमुनिका युवाको सहभागिता सुनिश्चित गरिने श्रेष्ठले जानकारी दिए।
हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा पार्टीको विधान तथा निर्देशिकाले तोकेको संख्या र मापदण्ड पूरा गरेका सक्रिय सदस्यहरूमध्येबाट प्रतिनिधि छनोट गरिनेछ। यसका लागि मंसिर ४ देखि १० गतेसम्मको समयसीमा तोकिएको छ।
राप्रपाको केन्द्रीय महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ। पार्टीले विभिन्न तहका अधिवेशन सम्पन्न गरिसकेको छ भने अब सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढाउन लागेको हो।






