भद्रपुर । झापाको हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ ।
धानबाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने तयारीसहित प्रशासनले किसानलाई ढिला नगरी बाली काटेर सुरक्षित स्थानमा राख्न आग्रह गरेको हो ।
शुक्रबार बिहान जङ्गली हात्तीको आक्रमणबाट बुद्धशान्तिमा एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखसहितको टोली हात्ती प्रवेशको मुख्य नाका बाहुनडाँगी पुगेको थियो ।
भारतबाट जङ्गली हात्ती नेपाल प्रवेश गर्ने मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा पुग्दा किसानहरू पाकेर पहेँलपुर भएको धान काट्न र ढुवानी गर्न व्यस्त थिए । स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, डिभिजन वन कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको समन्वयमा किसानहरू बाली भित्र्याउन जुटेका थिए ।
स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पोखरेलले किसानले मेहनत गरेर लगाएको बाली जोगाउनु अहिलेको मुख्य प्राथमिकता रहेको बताए ।
उनले बाली भित्र्याउने समयसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिँदै किसानलाई पनि पाकेको धान सकेसम्म चाँडो घरमा भित्र्याउन आग्रह गरे ।
स्थानीय किसानले कम्तीमा पाँच दिनसम्म हात्तीको प्रवेश नियन्त्रण गर्न सके पाकेको धानबाली सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए । किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको आवागमन नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
अनुगमनपछि मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीको पहलमा किसान, सङ्घसंस्थाका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखबीच छलफलसमेत भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी पोखरेलले हात्ती नियन्त्रणमा खटिएको सुरक्षा टोलीलाई टर्चलाइट र हाते माइक हस्तान्तरण गरेका थिए । उक्त सामग्री वडाध्यक्ष कार्कीको पहलमा उपलब्ध गराइएको हो ।
हाल उक्त क्षेत्रमा सशस्त्र प्रहरीका १० जना, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी तथा स्थानीय युवासहितको टोली परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार थप जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्का र सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले जानकारी दिएका छन् ।
प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई निर्धक्कसँग धानबाली भित्र्याउन सक्ने वातावरण बनाउने जनाएको छ ।






