विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको हो ।

विराटनगरका लागि चरिथ असलंकाले अर्धशतकीय पारी खेले । उनले ४३ बलमा ६ छक्का र एक चौकासहित ६४ रन बनाए । त्यस्तै, शुभम रञ्जानेले अविजित ३१ तथा इमरान शेखले २४ रनको योगदान दिए । शेख रिटायर्ड हर्ट भएर मैदानबाट बाहिरिएका थिए । लोकेश बमले १५ रन जोडे ।

लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए भने अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले एक–एक विकेट हात पारे ।

प्लेअफको सम्भावना कायम राख्न विराटनगरलाई यो खेल जित्नैपर्ने दबाब छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनी भने जितको लक्ष्यसहित मैदानमा उत्रिएको छ ।