कात्तिक १४, काठमाडौं ।
सरकारले गत कात्तिक ७ को मध्यरातबाट क्लिन फिड लागु गरेपछि बन्द भएका विदेशी च्यानलहरुको प्रसारण पुनः सुरु हुने क्रममा छ ।
यसअघि अधिकांश विदेशी च्यानल एचडी (हाइ डेफिनेसन) गुणस्तरमा हेरिरहेका नेपाली दर्शकहरु अहिले एसडी (स्ट्यान्डर्ड डेफिनिसन) मा चित्त बुझाउन बाध्य भएका छन् ।
पछिल्लो पटक स्टार गोल्ड, स्टार प्लस, कलर्स, कलर्स रिस्ते, निक, जूम, एमटिभी, टाइम्स नाउ, हिस्ट्री टिभीलगायतका च्यानलहरु एसडी गुणस्तरणमा प्रसारण सुरु भएको नेपाली केबल तथा सेटेलाइट च्यानल अपरेटरहरुको भनाइ छ ।
बाँकी च्यानलहरुको पनि प्रसारण चाँडै गर्ने तयारी भइरहेको मेरो टिभीका प्रबन्ध निर्देशक प्रकाश घिमिरेले जानकारी दिए । डिसहोम, सिम टिभी, नेट टिभी, क्लियर टिभी लगायतका अपरेटरहरुले पनि यी च्यानलहरुको प्रसारण सुरु गरेको जनाएका छन् ।
बुधबारबाट भने नेपालका अधिकांश केबल तथा सेटेलाइट अपरेटरहरुले आइपी प्रविधिमार्फत् स्टार स्पोर्टस्–१ को प्रसारण सुचारु गरेका थिए । इन्डियन प्रमियर लिग (आइपिएल)को प्रत्यक्ष प्रसारण यही च्यानलबाट हुने गरेको छ । सोनी, सोनी टेन, स्टार स्पोर्टस् सेलेक्ट लगायतका च्यानलहरुको प्रसारण अझै सुचारु हुन सकेको छैन ।







