एनपीएलको प्लेअफ समीकरण पूरा, लुम्बिनीसँग पराजित विराटनगर बाहिरियो

काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।

यस जितसँगै लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । साथै, उसले शीर्ष दुईमा रहने पक्का गरेको छ ।

लुम्बिनीले विराटनगरलाई हराएसँगै एनपीएलको प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी र सुदूरपश्चिम रोयल्ससँगै काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् ।

काठमाडौं ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छन् । सातवटै खेल खेलिसकेको विराटनगर ६ अंकसहित पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ दौडबाट बाहिरिएका थिए ।

रोमाञ्चक जितमा जोरा र ट्रम्पलम्यानको निर्णायक भूमिका

लुम्बिनीलाई जितका लागि अन्तिम दुई ओभरमा ३२ रन आवश्यक थियो । १९औँ ओभरमा सन्दीप जोराले इसुरु उडानाको बलमा दुई छक्का र एक चौका प्रहार गर्दै १७ रन जोडेपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक हुँदा अली शेखले रुपेश सिंहको पहिलो बलमै छक्का प्रहार गरे । उक्त बल नो बल भएपछि उनले फ्रि हिटमा थप दुई रन जोडे । दोस्रो र तेस्रो बलमा अली र जोराले एक–एक रन लिए ।

चौथो बलमा ठूलो सट खेल्ने क्रममा अली शेख क्याच आउट भए । त्यसपछि लुम्बिनीलाई दुई बलमा पाँच रन आवश्यक थियो । क्रिजमा आएका रुबेन ट्रम्पलम्यानले रुपेश सिंहको पाँचौँ बलमै छक्का प्रहार गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

लुम्बिनीका लागि ओपनर डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ११.५ ओभरमा ८६ रनको साझेदारी गरेका थिए ।

दुवै ओपनर आउट भएपछि लुम्बिनीले लगातार विकेट गुमायो । निरोशन डिकवेला र दिलीप नाथ खाता नखोल्दै आउट भए भने कप्तान रोहित पौडेल ९ रन बनाएर रनआउट भए ।

विराटनगरका अपराजित पौडेलले १३औँ ओभरमा डिकवेला र नाथलाई लगातार आउट गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।

एनपीएलमा डेब्यु गरेका अमेरिकी अलराउन्डर अली शेख र सन्दीप जोराले छैटौँ विकेटका लागि ४२ रनको महत्त्वपूर्ण साझेदारी गरे । शेखले १९ बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए । जोराले ११ बलमा एक चौका र तीन छक्काको मद्दतमा अविजित २५ रन जोडे । ट्रम्पलम्यानले एक बलमै छक्का प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे ।

बलिङतर्फ विराटनगरका अपराजित पौडेलले दुई तथा चरित असलंका र रुपेश सिंहले एक–एक विकेट लिए ।

असलंकाको अर्धशतकमा विराटनगरले बनाएको थियो १६६ रन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको थियो ।

विराटनगरका लागि चरित असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा एक चौका र छ छक्का प्रहार गरे । शुभम रन्जानेले २४ बलमा चार चौकासहित अविजित ३१ रन जोडे ।

ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ड हर्ट भए भने लोकेश बमले १५ रन बनाए । शेहान जयसूर्या एक र इसुरु उडाना ६ रनमा आउट भए ।

विराटनगर ७० रनको अवस्थामा हुँदा इमरान शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका शुभम रन्जानेसँग मिलेर असलंकाले ७५ रनको साझेदारी गरेका थिए ।

बलिङतर्फ लुम्बिनीका किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले एक–एक विकेट लिए । किशोरले चार ओभरमा २४ रन र अभिषेकले तीन ओभरमा १५ रन मात्र खर्चिए । ट्रम्पलम्यान भने महँगा साबित भए । उनले चार ओभरमा ५२ रन खर्चिएका थिए ।