मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान, मङ्सिर ४ गतेसम्मको समय सीमा

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज स्वीकृत गरेका हुन् । राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको हो ।

प्रदेश प्रमुखको कार्यालयले इच्छुक प्रदेशसभा सदस्यलाई २०८३ साल मङ्सिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म आफ्नो दाबी पेस गर्न समयसीमा निर्धारण गरेको छ ।

बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले तोकिएको समयभित्र दाबी पेस गरेपछि मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ ।