काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागसहित कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । बाँकी पहाडी तथा तराईका क्षेत्रमा आंशिक बदली रहनेछ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
आज राति देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । साथै, हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।






