काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूको आस्था, श्रद्धा र प्रकृतिप्रेमसँग जोडिएको महान् पर्व छठ आज सूर्यदेवको विधिपूर्वक पूजाआराधना गरी देशभर हर्षोल्लासका साथ मनाइँदै छ । विशेषगरी नेपाल र भारतका हिन्दु समुदायले मनाउने यो पर्व तिहारलगत्तै सुरु भई चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाउने गरिन्छ ।
मुख्यतः तराई–मधेसवासीको प्रमुख चाडका रूपमा परिचित छठ पछिल्लो समय हिमाल र पहाडका विभिन्न क्षेत्रमा पनि उत्तिकै उत्साह र श्रद्धाका साथ मनाउन थालिएको छ । अहिंसा, आत्मशुद्धि, परोपकार, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको सन्देश बोकेको यस पर्वमा सूर्यदेव र षष्ठी भगवतीको विशेष पूजा गरिन्छ ।
चार दिनसम्म कठोर नियम र निष्ठाका साथ मनाइने छठ पर्वको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय–खाय’ भनिन्छ । यस दिन व्रतालुहरूले बिहानै स्नान गरी घर तथा पूजास्थल सफा गर्ने, नङ काट्ने र शुद्ध सात्त्विक भोजन ग्रहण गर्ने परम्परा छ । विशेषगरी चोखो भात, दाल र लौकाको तरकारी खाने गरिन्छ ।
पर्वको दोस्रो दिन पञ्चमीलाई ‘खरना’ भनिन्छ । यस दिन व्रतालुहरू दिनभरि निराहार व्रत बसेर साँझपख स्नान गरी चामल, दूध र सख्खरबाट तयार पारिएको खीर अर्थात् रसियालाई प्रसादका रूपमा ग्रहण गर्छन् । खरनाको प्रसाद ग्रहण गरेपछि छठको मुख्य निर्जला व्रत सुरु हुन्छ ।
तेस्रो दिन षष्ठीका दिन साँझ ‘सन्ध्या अर्घ्य’ दिने परम्परा छ । यस दिन व्रतालुहरू विभिन्न पूजा सामग्री र प्रसादसहित नदी, खोला, पोखरी तथा जलाशयमा पुगेर कम्मरसम्म पानीमा उभिई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । साँझको पूजापछि व्रतालु तथा श्रद्धालुहरू रातभर घाटमै जाग्राम बसेर भजनकीर्तन र सूर्यदेवको आराधनामा सहभागी हुन्छन् ।
पर्वको अन्तिम दिन सप्तमीमा बिहान उदाउँदो सूर्यलाई ‘उषा अर्घ्य’ दिइन्छ । व्रतालुहरूले सूर्योदयसँगै विधिपूर्वक अर्घ्य अर्पण गरी सूर्यदेवको पूजा गरेपछि व्रत समापन गर्छन् । त्यसपछि प्रसाद ग्रहण गरी परिवार, आफन्त र छरछिमेकमा वितरण गर्ने चलन छ ।
छठ पूजामा उखु, केराको बोट तथा फल, नरिवल, बेसार, अदुवा, जौलगायत सामग्रीको प्रयोग गरिन्छ । यस पर्वका प्रमुख प्रसादका रूपमा ठेकुवा, भुसुवा तथा विभिन्न मौसमी फलफूल चढाउने परम्परा रहेको छ । शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा व्रतालुहरूले सूर्यदेव र षष्ठी भगवतीको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्छन् ।
छठ पर्वको उत्पत्तिबारे विभिन्न धार्मिक तथा पौराणिक कथन प्रचलित छन् । पौराणिक मान्यताअनुसार लङ्का विजयपछि अयोध्या फर्किएका भगवान् राम र सीताले कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको उपासना गरी सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए । त्यसैगरी, सूर्य पुराणमा उल्लेख भएअनुसार अत्रि ऋषिकी पत्नी अनुसूयाले दाम्पत्य सुख र पारिवारिक कल्याणका लागि छठ व्रत गरेको विश्वास गरिन्छ ।
महाभारतकालीन कथासँग पनि छठ पर्व जोडिएको छ । पाण्डवहरूको वनवास र अज्ञातवासका क्रममा द्रौपदीले सूर्यदेवको आराधना गरेको तथा सूर्यपुत्र कर्णले नियमित रूपमा सूर्यको उपासना गर्ने गरेको धार्मिक मान्यता छ ।
छठ पर्वको सबैभन्दा विशिष्ट पक्ष अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धा र भक्तिका साथ अर्घ्य अर्पण गर्नु हो । यसले जीवनमा उदय र अस्त दुवै अवस्थालाई सम्मान गर्नुपर्ने सन्देशसमेत दिने विश्वास गरिन्छ ।
धार्मिक आस्थासँगै छठ पर्व प्रकृति र वातावरण संरक्षणसँग पनि जोडिएको छ । सूर्यलाई पृथ्वीमा जीवन, ऊर्जा र प्रकाशको प्रमुख स्रोत मानिन्छ । सूर्यको प्रकाशले वनस्पति, जीवजन्तु तथा समग्र पर्यावरणीय चक्र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यस पर्वले प्रकृतिप्रतिको निर्भरता र सम्मानलाई उजागर गर्छ ।
यसरी धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको छठ पर्वले परिवार तथा समुदायबीच आपसी सद्भाव, एकता र सहकार्यको भावना बलियो बनाउँदै आएको छ ।






