काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको आस्था, श्रद्धा र प्रकृतिपूजासँग जोडिएको महान् पर्व छठ आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै देशभर हर्षोल्लासका साथ मनाइँदै छ। विशेषगरी नेपाल र भारतका हिन्दु समुदायले मनाउने यो पर्व तिहारलगत्तै सुरु हुने गर्दछ। कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ।
अहिंसा, परोपकार, सद्भाव र सामाजिक एकताको सन्देश बोकेको छठ पर्व विशेषगरी तराई तथा मधेस क्षेत्रको प्रमुख चाड हो। पछिल्लो समय भने यसको लोकप्रियता देशका हिमाली तथा पहाडी क्षेत्रमा समेत बढ्दै गएको छ। अहिले सबै क्षेत्र र समुदायका नेपालीले श्रद्धा र उत्साहका साथ छठ मनाउन थालेका छन्।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने यस पर्वको पहिलो दिन कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय–खाय’ भनिन्छ। यस दिन व्रतालुहरू बिहानै स्नान गरी घरको सरसफाइ गर्छन्। त्यसपछि चोखो भात, दाल र लौकाको तरकारीलगायत शुद्ध तथा सात्त्विक भोजन ग्रहण गर्ने परम्परा छ।
पर्वको दोस्रो दिन पञ्चमीलाई ‘खरना’ भनिन्छ। यस दिन व्रतालुहरू दिनभरि निराहार उपवास बसेर साँझपख स्नान गर्छन्। त्यसपछि दूध, चामल र सख्खरबाट तयार पारिएको खीर अर्थात् रसियाखीर प्रसादका रूपमा ग्रहण गर्छन्। खरनाको प्रसाद ग्रहण गरेसँगै छठको मुख्य निर्जला व्रत सुरु हुन्छ।
तेस्रो दिन अर्थात् षष्ठीका दिन मुख्य रूपमा ‘सन्ध्या अर्घ्य’ दिने गरिन्छ। यस दिन व्रतालुहरू दिनभरि निराहार बसेर साँझपख नदी, खोला, पोखरी तथा अन्य जलाशयमा पुग्छन्। कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई विभिन्न पूजासामग्री र फलफूलसहित अर्घ्य अर्पण गरिन्छ। त्यसपछि व्रतालुहरू रातभर जलाशयको किनारमा जाग्राम बसेर भजनकीर्तन तथा पूजाआराधनामा सहभागी हुन्छन्।
छठ पर्वको अन्तिम दिन सप्तमीमा ‘उषा अर्घ्य’ दिइन्छ। यस दिन बिहानै व्रतालुहरू पुनः जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। सूर्यको पूजा तथा व्रत विधिवत् सम्पन्न भएपछि प्रसाद ग्रहण गरिन्छ। त्यसपछि प्रसाद आफन्त, छरछिमेक र श्रद्धालुहरूलाई वितरण गर्दै चार दिनसम्म चल्ने छठ पर्वको समापन गरिन्छ।
छठ पूजामा उखु, केराको बोट तथा फल, बेसार, अदुवा, नरिवल, जौलगायतका सामग्री प्रयोग गरिन्छ। यस पर्वका विशेष परिकारका रूपमा ठेकुवा र भुसुवालाई लिइन्छ। अत्यन्त शुद्धता र निष्ठाका साथ षष्ठी भगवती तथा सूर्यदेवको पूजा गर्दा पारिवारिक मनोकामना पूरा हुने, घरमा सुख, शान्ति र समृद्धि छाउने तथा सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास छ। यस अवसरमा विशेषगरी सन्तान, पति तथा परिवारका सदस्यहरूको दीर्घायु, आरोग्य र कल्याणको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ।
छठ पर्वको सुरुआतसँग सम्बन्धित विभिन्न धार्मिक तथा पौराणिक कथनहरू प्रचलित छन्। धार्मिक मान्यताअनुसार लङ्का विजयपछि अयोध्या फर्किएका भगवान् राम र सीताले रामराज्य स्थापनाका क्रममा कार्तिक शुक्ल षष्ठीका दिन सूर्यदेवको उपासना गरी रातभर जाग्राम बसेका थिए। उनीहरूले सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेको कथन पाइन्छ।
त्यस्तै, सूर्य पुराणअनुसार अत्रि ऋषिकी पत्नी सती अनुसूयाले दाम्पत्य जीवनको सुख, शान्ति र समृद्धिका लागि यो व्रत गरेकी थिइन्। यसैबाट छठ व्रतको परम्परा सुरु भएको धार्मिक विश्वास छ। महाभारतकालमा पाण्डवहरूको वनवास तथा अज्ञातवास सफलताको कामना गर्दै द्रौपदीले सूर्यदेवको आराधना गरेको प्रसङ्ग पनि छठ पर्वसँग जोडिएको छ। त्यस्तै, सूर्यपुत्र कर्णले नदीमा उभिएर नियमित रूपमा सूर्यको उपासना गर्ने गरेको पौराणिक कथन पाइन्छ।
छठ पर्वको सबैभन्दा विशिष्ट पक्ष भनेको अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धा र भक्तिका साथ अर्घ्य अर्पण गर्नु हो। यसले प्रकृतिका हरेक अवस्था र चक्रलाई सम्मान गर्नुपर्ने सन्देशसमेत दिने गर्दछ।
धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै छठ पर्व प्रकृति, ऊर्जा र मानव जीवनसँग पनि जोडिएको छ। सूर्यलाई पृथ्वीमा जीवन र वनस्पतिको अस्तित्व कायम राख्ने प्रमुख ऊर्जा स्रोतका रूपमा लिइन्छ। सूर्यको प्रकाशले मानव स्वास्थ्य र वातावरणमा पार्ने सकारात्मक प्रभावलाई आत्मसात् गर्दै यस पर्वमा सूर्यदेवको विशेष उपासना गरिन्छ। बिहानको घाम ताप्ने तथा सूर्यको प्रकाशमा समय बिताउने अभ्यासलाई पनि स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ।
यसरी धार्मिक आस्था, पारिवारिक सुख, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावलाई एकैसाथ जोड्ने छठ पर्वले समाजमा एकता, सहिष्णुता र आपसी भाइचाराको सन्देश प्रवाह गर्दै आएको छ।






