कात्तिक १४, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण नगर्दा राज्यको करिब ६० करोड रुपैयाँ बचत भएको छ ।
विगतका वर्षहरुमा ६–७ अर्बको नयाँ नोट दशैँका बेला छपाएर ल्याइने गरेको थियो । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालका अनुसार यस वर्ष राष्ट्र बैंकले पहिलोपल्ट दशैँमा नयाँ नोट साट्ने प्रचलन तोडेको हो ।
‘६÷७ अर्ब रुपैयाँ साना र ठुला दरका नयाँ नोट छपाइको खर्च ६० करोड रुपैयाँ लाग्छ,’ कार्यकारी निर्देशक नेपालले भने, ‘यसपाली दशैँ लक्षित नयाँ नोट छपाइ गर्नु नपरेको कारणले राज्यको ढुकुटीमा नोट छपाइ वापतका ६० करोड रुपैयाँ बचत भएको छ ।’
विगतमा दशैंको समयमा बजारमा गएका ४० प्रतिशत नयाँ नोट फोहोर अर्थात पुनः प्रयोग गर्न नमिल्ने अवस्थामा बैंकमा फर्किने हुँदा राष्ट्र बैंकले त्यसलाई जलाउँदा करिब २५ करोड रुपैयाँ क्षति हुने गरेको उनले जानकारी दिए ।
राष्ट्र बैंकले यस वर्ष दशै लक्षित नयाँ नोट वितरण नगरेपनि खुद्रादर सुकिला नोटहरु माग भने ५५ अर्ब रुपैयाँले बढेको छ । जसमा खुद्रादरका नोट २ अर्ब ४० करोड रुपैयाँ सर्वसाधारणहरुले बैंकहरुबाट सटही गरेका छन् ।
साथै, असोज लागेपछि ठुला तथा सानादरका सुकिला नोट र स्टकमा रहेका केही नयाँ नोट समेत गरेर ६ खर्ब ३० अर्ब रुपैयाँ बढी नोट सर्कुलरमा छ ।
‘सामान्य अवस्थामा मासिक सानादर नोट १० करोड रुपैयाँसम्म पनि माग हुँदैन थियो,’ उनले थपे, ‘असोज शुरु भएपछि कात्तिक ६ गतेसम्म देशभर २ अर्ब ४० करोड रुपैयाँ सानादरमा ५ देखी १० रुपैयाँसम्मका नोट गएका छन् ।’
यसपाली नयाँ नोट वितरण नभएको र दशै लक्षित चहलपहल, धार्मिक क्रियाकलाप समेत कम भएको भएका छन् । जसकारण यसवर्ष भने दशंैलक्षित भएर बजारमा सर्कुलरमा गएका नोट १५÷२० प्रतिशतमात्र फोहोर तथा पुन प्रयोग गर्न नमिल्ने हुन सक्ने कार्यकारी निर्देशक नेपालको अनुमान छ ।
‘बैंकहरु खुलेपनि अहिले नै सर्कुलरमा गएका नोट राष्ट्र बैंकमा जम्मा गर्न ल्याएका छैनन्,’ उनले भने, ‘बैंकहरुको ढुकुटी सानो हुनेभएकाले दशै सकिएको ३÷४ दिनपछिबाटै राष्ट्र बैंकमा नोट आइपुग्छ ।’
बैंकहरुले राष्ट्र बैंकमा नोट ल्याएपछि मात्र बजारमा गएका नयाँ तथा सुकिला नोटमा पुनः प्रयोग गर्न नमिल्ने छुट्याएर नोटमार्फत् राज्यलाई भएको क्षतिको यकिन गर्न सकिने उनले बताए ।







