हुसैन तलातको पहिलो अर्धशतकमा चितवनलाई कर्णालीले दियो १५४ रनको लक्ष्य

काठमाडौं । पाकिस्तानका अलराउन्डर हुसैन तलातको उत्कृष्ट अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आफ्नो अन्तिम खेलमा चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।

कर्णालीका लागि तलातले सर्वाधिक ५१ रनको योगदान दिए । उनले ३३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अविजित अर्धशतकीय इनिङ खेले । एनपिएलमा उनको यो पहिलो अर्धशतक हो ।

त्यस्तै, बंगलादेशी ओपनर अरिफुल इस्लामले १५ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३५ रन बनाए । उनलाई सलाहुद्दिन खानले बोल्ड गरेका थिए ।

नवौं नम्बरमा ब्याटिङ गर्न आएका गुल्शन झाले आक्रामक प्रदर्शन गर्दै ६ बलमा १८ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे । गुल्शनलाई रिजन ढकालको बलमा कुशल मल्लले क्याच आउट गराए ।

पवन सर्राफले २१ बलमा १५ रन बनाए । कर्णालीका लागि डेब्यु गरेका ओपनर सचिन शर्मा भने खाता नखोल्दै आउट भए । उनलाई कमलसिंह ऐरीले एलबीडब्लू धरापमा पारेका थिए ।

दीपक डुम्रेले ७, कप्तान डेविड मिलरले ५, सोमपाल कामीले ४ र स्कटल्यान्डका मार्क वाटले ६ रन बनाए ।

चितवनका लागि उस्मान मिर, सलाहुद्दिन खान र कमलसिंह ऐरीले समान दुई विकेट लिए । कप्तान सिकन्दर राजा र रिजन ढकालले एक–एक विकेट हात पारे ।

चितवनले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ । पछिल्लो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएको चितवनले ६ खेलबाट ३ जितसहित ७ अंक जोडेको छ ।

यता, लगातार चार खेलमा पराजित भएपछि कर्णाली भने प्लेअफ दौडबाट बाहिरिसकेको छ । प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकाल्दै राम्रो सुरुवात गरेको कर्णालीले त्यसपछिका खेलमा लय कायम राख्न सकेन । टोलीले ६ खेलबाट ४ अंक जोडेको छ ।