काठमाडौँ । इरानले खाडी मुलुक बहराइनमा रहेको अमेरिकी सैन्य अखडालाई लक्षित गरी ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन्। घटनापछि सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
स्थानीय समयअनुसार आइतबार बिहान करिब ४ बजे पहिलोपटक विस्फोटको आवाज सुनिएको थियो। त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन्। घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचित गरेका थिए।
बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सूचना जारी गर्दै नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमका सूचनालाई पालना गर्न आग्रह गरेको छ।
इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छवटा ड्रोन प्रहार गरेको दाबी गरेको छ।
आईआरजीसीले होर्मुज जलमार्ग बन्द रहेको उल्लेख गर्दै अमेरिकाले थप आक्रमण गरे त्यसको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ।
गत फेब्रुअरी २८ देखि इरान र अमेरिका–इजरायलबीच युद्ध सुरु भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। युद्धका क्रममा इरानले होर्मुज जलमार्गबाट हुने जल यातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गर्दै आएको छ।
बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ। यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो।
उक्त घटनामा अमेरिकी सेनाले आफ्नो क्षेत्रमा लक्षित दुईवटा इरानी ड्रोन खसालेको जनाएको थियो। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार त्यस घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भएको थिएन।
खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढ्दै गएको छ।






