पोखराले बनायो एनपीएल इतिहासकै सर्वाधिक रन, काठमान्डुलाई २२५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले कीर्तिमानी योगफल तयार पारेको छ ।

आफ्नो सिजनको अन्तिम खेलमा पोखराले काठमान्डु गोर्खाजविरुद्ध निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।

यो एनपीएल इतिहासकै सर्वाधिक योगफल हो । यसअघि दोस्रो सिजनमै विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको क्षतिमा २२० रन बनाएको थियो ।

पोखरालाई कीर्तिमानी स्कोरसम्म पुर्‍याउन कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । उनले शतक बनाउन एक रनले चुके पनि ५१ बलमा ९९ रनको शानदार पारी खेले । उनको आक्रामक ब्याटिङले पोखरालाई एनपीएलकै उच्च स्कोर बनाउन महत्वपूर्ण योगदान पुर्‍यायो ।