आईसीसीले बदल्यो विश्वकप छनोटको ढाँचा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताको संरचना परिवर्तन गरेको छ। आईसीसीले पछिल्ला तीन संस्करणदेखि सञ्चालन हुँदै आएको सुपर सिक्स चरण हटाउने निर्णय गरेको हो।

आईसीसीको आइतबार इन्डोनेसियाको बालीमा बसेको बोर्ड बैठकले आगामी वर्ष फेब्रुअरी–मार्चमा हुने विश्वकप छनोटको नयाँ ढाँचा सार्वजनिक गरेको हो।

नयाँ संरचनाअनुसार छनोट प्रतियोगितामा सहभागी १० टोलीलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनलका विजेताबीच उपाधिका लागि फाइनल खेल हुनेछ।

यसअघि १० टोलीलाई दुई समूहमा विभाजन गरी समूह चरणपछि सुपर सिक्स खेलाइन्थ्यो। पुरानो संरचनामा कुल ३४ खेल हुने गरेकामा नयाँ ढाँचामा सुपर सिक्स हटाइएसँगै खेल संख्या घटेर २३ मा सीमित हुनेछ।

सन् २०२७ को एकदिवसीय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। नयाँ छनोट प्रणालीअनुसार छनोट प्रतियोगिताको विजेता टोलीले विश्वकपमा सिधै स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो हुने टोलीले भने विश्वकपको पहिलो चरणका रूपमा रहने सुपर सिरिजमा प्रतिस्पर्धा गर्नुपर्नेछ। सुपर सिरिजबाट उत्कृष्ट हुने टोलीले मुख्य प्रतियोगितामा स्थान सुरक्षित गर्नेछ।

छनोट प्रतियोगितामा सहभागी हुने १० मध्ये ६ टोलीको टुंगो लागिसकेको छ। वेस्ट इन्डिज र आयरल्यान्डले वरीयताका आधारमा छनोटमा स्थान बनाएका छन्। त्यस्तै, आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट अमेरिका, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमान छनोट भएका छन्।

बाँकी चार टोलीको टुंगो नेपालमा आगामी महिना आयोजना हुने छनोट प्लेअफबाट लाग्नेछ। उक्त प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका चार टोलीबीच प्रतिस्पर्धा हुनेछ।

यसैबीच, आईसीसीले सन् २०२८ मा आयोजना हुने पुरुष टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ। नयाँ संरचनाअनुसार ग्लोबल छनोटमा १६ टोली सहभागी हुनेछन्। उनीहरूलाई चार समूहमा विभाजन गरिनेछ। समूह चरणपछि क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलका खेल हुनेछन्।

यस छनोटबाट आठ टोलीले सन् २०२८ को पुरुष टी–२० विश्वकपमा स्थान बनाउनेछन्। सेमिफाइनलमा पुग्ने चारै टोली स्वतः विश्वकपमा छनोट हुनेछन्। बाँकी चार स्थानका लागि क्षेत्रीय प्रतिनिधित्व र छनोट प्रतियोगिताको प्रदर्शनलाई आधार बनाइनेछ।

अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया–प्रशान्त र युरोप गरी पाँच क्षेत्रका उत्कृष्ट टोलीले पनि छनोटको अवसर पाउनेछन्। क्षेत्रीय छनोटको शीर्ष टोली ग्लोबल छनोटको शीर्ष आठमा परेमा स्वतः विश्वकपमा पुग्नेछ। शीर्ष आठमा नपरे पनि नवौँदेखि १२औँ स्थानमा रहेमा क्षेत्रीय छनोटबाट स्थान बनाउन नसकेका शीर्ष आठभित्रका टोलीमध्ये सबैभन्दा कमजोर टोलीलाई प्रतिस्थापन गर्न सक्नेछ।

बाँकी स्थान क्वार्टरफाइनलमा पराजित भएका टोलीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने टोलीले प्राप्त गर्नेछन्। यसका लागि समूह चरणको प्रदर्शन, अंक, जित र नेट रनरेटलाई आधार बनाइनेछ। तर आफ्नो समूहमा अन्तिम स्थानमा रहने टोली भने विश्वकपका लागि छनोट हुन योग्य हुने छैनन्।

त्यस्तै, आईसीसीले सन् २०२८ मा पाकिस्तानमा आयोजना हुने महिला टी–२० विश्वकपको छनोट प्रक्रिया पनि सार्वजनिक गरेको छ।

आयोजक पाकिस्तानसहित अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, बंगलादेश, इंग्ल्यान्ड, वेस्ट इन्डिज, न्युजिल्यान्ड, श्रीलंका र आयरल्यान्डले प्रतियोगितामा स्वतः स्थान सुरक्षित गरेका छन्। बाँकी दुई स्थानका लागि १० टोलीबीच ग्लोबल छनोट प्रतियोगिता हुनेछ।

सन् २०२६ को महिला टी–२० विश्वकपमा सहभागी भएका नेदरल्यान्ड्स र स्कटल्यान्डले ग्लोबल छनोटमा सिधै स्थान बनाएका छन्। उनीहरूसँगै सन् २०२७ मा आयोजना हुने पाँच क्षेत्रीय छनोट प्रतियोगिताबाट आएका आठ टोलीले पनि ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन्। त्यहाँबाट उत्कृष्ट दुई टोलीले सन् २०२८ को महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।