मंसिर १ गतेदेखि कांग्रेसको ‘हामी तयार छौँ’ अभियान

पोखरा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा गर्दै विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट कार्ययोजनासहित आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले सोमबार पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीभित्रका कमजोरी पहिचान गरी सुधार गर्दै सशक्त रूपमा अघि बढ्न अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । उनले सकारात्मक प्रतिपक्षको भूमिका प्रभावकारी बनाउन पनि अभियानले मार्गनिर्देशन गर्ने बताए ।

पार्टीलाई कमजोर बनाउने हल्ला र कानेखुसीमा नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले आपसी सहकार्य, समन्वय र एकताबाट मात्रै कांग्रेसलाई बलियो बनाउन सकिने धारणा राखे ।

कार्यविभाजन नभएका नेताहरूलाई समेत जिम्मेवारी दिने विषयमा पार्टीले फराकिलो सोचका साथ अघि बढ्ने उनको भनाइ थियो ।

महामन्त्री पौडेलले मङ्सिर महिनाभित्र जिल्ला तथा प्रदेश अधिवेशन र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिइने जानकारी दिए । अभियानको विस्तृत कार्ययोजनासहितको सर्कुलर छिट्टै प्रदेश र जिल्ला तहमा पठाइने उनले बताए ।