काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्यसहित काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा आजदेखि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएको छ ।

ऐन काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा लागू भएको हो । सरकारले गत १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

निर्धारित कार्ययोजनाअनुसार पहिलो चरणमा काठमाडौं उपत्यकाबाट ऐन कार्यान्वयन सुरु गरिएको हो । दोस्रो चरणमा आगामी १ माघदेखि उपत्यकाबाहिरका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा ऐन लागू गरिनेछ । त्यसैगरी, तेस्रो चरणमा १ साउन २०८४ देखि बाँकी गाउँपालिकामा समेत ऐन कार्यान्वयनमा ल्याइनेछ ।

पशु सेवा विभागका अनुसार ऐन कार्यान्वयनको सुरुवात काठमाडौंको भ्याली कोल्ड स्टोर, भक्तपुरको मध्यपुर थिमिस्थित न्यु पञ्चकन्या वधशाला र ललितपुरको एभरेस्ट बंगुर वधशालाबाट गरिएको छ । ती वधशालामा मासु जाँच गर्ने र मापदण्डअनुसार छाप लगाउने प्रक्रिया सुरु गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार ऐन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहसचिवको नेतृत्वमा आठ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । स्थानीय तहसँग समन्वयका लागि १२ वटा कार्यदलसमेत परिचालन गरिएको छ ।

ऐन कार्यान्वयनका लागि आवश्यक तालिम प्रदान गरेर छाप तथा अन्य सामग्रीसहित २४० जना मासु निरीक्षक परिचालन गर्न तयारी अवस्थामा राखिएको छ । उनीहरूमध्ये काठमाडौंमा १४७, ललितपुरमा ५८ र भक्तपुरमा ३५ जना खटाइनेछन् ।

विभागले प्रत्येक स्थानीय तहमा एक जना सुपरिवेक्षकसमेत परिचालन गर्ने जनाएको छ । नयाँ व्यवस्था कार्यान्वयनसँगै पशु वध तथा मासु बिक्री वितरणलाई व्यवस्थित बनाउनुका साथै उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु प्राप्त गर्ने अपेक्षा गरिएको छ ।