काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ। तिहारयता सुनको भाउ प्रतितोला १३ हजार ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारका बेला कात्तिक २२ गते प्रतितोला २ लाख ८३ हजार रुपैयाँ रहेको सुनको मूल्य सोमबार घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ। मंगलबारका लागि भने महासंघले नयाँ मूल्य निर्धारण गरिसकेको छैन।
महासंघका अनुसार तिहारअघि प्रतितोला २ लाख ८३ हजार रुपैयाँ रहेको सुनको मूल्य तिहारपछि कात्तिक २७ गते घटेर २ लाख ७१ हजार ७०० रुपैयाँमा झरेको थियो। त्यसपछि कात्तिक २९ गते २ लाख ७० हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार थप घटेर २ लाख ६९ हजार १०० रुपैयाँ पुगेको हो।
यस अवधिमा चाँदीको मूल्य पनि प्रतितोला २९० रुपैयाँले घटेको छ। तिहारअघि प्रतितोला ३ हजार ८१० रुपैयाँ रहेको चाँदी सोमबार ३ हजार ५२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ कायम भएको छ।





