३७ दिनपछि उत्तरी गोरखामा फर्कियो विद्युत् सेवा

काठमाडौं- बूढीगण्डकी नदीमा आएको बाढीका कारण ३७ दिनदेखि अन्धकारमा रहेको उत्तरी गोरखाको धार्चे गाउँपालिकामा सोमबारदेखि विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। असोज २५ गते आएको बाढीले विद्युत् संरचनामा क्षति पुर्‍याउँदा स्थानीय बासिन्दा लामो समयदेखि विद्युत् सेवाबाट वञ्चित थिए।

धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार विद्युत् सेवा सुचारु भएसँगै वडा नम्बर १ र ३ का करिब छ सय घरधुरी लाभान्वित भएका छन्। बाढीले माथिल्लो सल्लाघारी, माझ सल्लाघारी, तल्लो सल्लाघारी, दोभान, हुमचेत, दाम्बकचेत, माथ्लाम, स्यालीडाँडा उहियाँ र यारुबगरका बस्तीमा विद्युत् सेवा अवरुद्ध पारेको थियो।

स्थानीय तहमा सक्रिय कादुरी संस्थाले बाढीले क्षति पुर्‍याएका विद्युत् पोल, तार र ट्रान्सफर्मर मर्मत गरेपछि सेवा पुनः सुरु भएको हो। धार्चे गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शेरबहादुर गुरुङका अनुसार बाढीले वडा नम्बर ३ मा मात्रै झण्डै ६० वटा विद्युत्का पोल र केही ट्रान्सफर्मर बगाएको थियो।

विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवन कष्टकर बनेको थियो। स्थानीय सोम गुरुङले मोबाइल चार्ज गर्नसमेत जेनेरेटर भएका घर खोज्दै जानुपर्ने बाध्यता रहेको बताउनुभयो। लामो समयपछि विद्युत् सेवा सञ्चालनमा आएसँगै स्थानीयको दैनिक कामकाज सहज भएको छ।