काठमाडौं । कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले २७ रनको योगदान दिए । यी दुईबीच चौथो विकेटका लागि ६४ रनको महत्वपूर्ण साझेदारी भएको थियो ।
खराब सुरुवात गरेको सुदूरपश्चिमले ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । जर्ज मन्से पहिलो बलमै आउट भए भने विनोद भण्डारी र तानुका दबारे पनि सस्तैमा पेभेलियन फर्किए ।
त्यसपछि क्रिजमा आएका दीपेन्द्र र इशानले संयमित ब्याटिङ गर्दै टोलीको इनिङ्स सम्हालेका थिए । इशान १५औँ ओभरको पहिलो बलमा ३३ बलमा २७ रन बनाएर रनआउट भए ।
त्यसपछि सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमायो । थरिन्दु रत्नायके शेर मल्लको बलमा बोल्ड भए भने आरिफ शेख ४ रनमा आउट भए । कप्तान दीपेन्द्र अन्तिम ओभरको दोस्रो बलमा क्याच आउट भए । स्कट कुगेलेइनले ७ रन बनाए भने अनिल खरेल २ रनमा अविजित रहे ।
लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । शेर मल्लले पनि २ विकेट हात पारे । किशोर महतो र अभिशेष गौतमले समान १ विकेट लिए । सुदूरपश्चिमका दुई ब्याटर रनआउट भए ।
साविक उपविजेता सुदूरपश्चिम र साविक विजेता लुम्बिनीबीचको यस खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।





