हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली । तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको केन्द्रको शुभारम्भ गरिएको हो।

केन्द्र सञ्चालनमा आएसँगै व्यास नगरपालिकाका नागरिकले सामान्य आँखा परीक्षण तथा उपचारका लागि पोखरा पुग्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरवासीलाई सहज, सुलभ र स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको बताए। नगरपालिकाभित्रै सेवा सुरु भएपछि सामान्य आँखासम्बन्धी समस्या लिएर पनि पोखरा जानुपर्ने अवस्थाको अन्त्य हुने उनको विश्वास थियो।

उनले स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउनु स्थानीय सरकारको प्राथमिकता भएको उल्लेख गर्दै केन्द्रलाई प्रभावकारी र नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।

नेपाल नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष एवं हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र थापाले आर्थिक अवस्था कमजोर भएका, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई अस्पतालले निःशुल्क आँखा उपचार सेवा प्रदान गर्दै आएको जानकारी दिए।

उनले उपचार केन्द्र स्थापना गर्नु मात्रै ठूलो उपलब्धि नभई त्यसलाई निरन्तरता दिँदै सेवाग्राहीलाई नियमित सेवा उपलब्ध गराउनु महत्वपूर्ण हुने बताए। केन्द्रलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

हिमालय आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य प्राडा दिलबहादुर क्षेत्रीले आँखाको स्वास्थ्यप्रति सबै सचेत हुनुपर्नेमा जोड दिँदै नियमित परीक्षणमा लापरवाही नगर्न आग्रह गरे। समयमै परीक्षण र उपचार गर्न सके आँखासम्बन्धी धेरै समस्याबाट बच्न सकिने उनले बताए।

नगर उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै विभिन्न स्वास्थ्य शिविर तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। नागरिकलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै नगरभित्र उपलब्ध गराउने प्रयासस्वरूप आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको उनको भनाइ थियो।

हिमालय आँखा अस्पतालले जनशक्ति व्यवस्थापन गर्ने

उपचार केन्द्रका लागि आवश्यक कर्मचारी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन हिमालय आँखा अस्पताल पोखराले गर्नेछ। यसबाट केन्द्रको सेवा गुणस्तरीय र नियमित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

केन्द्र शुभारम्भका अवसरमा निःशुल्क आँखा परीक्षणको व्यवस्था गरिएको थियो। बुधबारदेखि भने आँखा परीक्षणका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

स्थानीयस्तरमै आँखा उपचार सेवा उपलब्ध भएपछि व्यास नगरपालिकाका साथै आसपासका क्षेत्रका नागरिकसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ। सामान्य परीक्षण तथा उपचारका लागि टाढा जानुपर्ने समय र खर्च बचत हुनुका साथै समयमै उपचार पाउन सहज हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए।

(रासस)