बाजुरा । हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्ला वर्षहरूमा स्याउ उत्पादन बढ्दै गएको छ । खेती विस्तारसँगै फल दिने बोटको सङ्ख्या र उत्पादन क्षेत्रफल बढेपछि जिल्लामा स्याउ उत्पादनमा वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यस वर्ष जिल्लामा ३३७ मेट्रिकटन अर्थात् तीन हजार ३७० क्विन्टल स्याउ उत्पादन भएको छ । केन्द्रका सूचना अधिकारी प्रेमराज न्यौपानेले गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन बढेको जानकारी दिए ।
उनका अनुसार जिल्लाका चार स्थानीय तहमा मुख्य रूपमा स्याउखेती हुँदै आएको छ । यस वर्ष स्वामीकार्तिक खापर गाउँपालिकामा सबैभन्दा बढी १२५ मेट्रिकटन स्याउ उत्पादन भएको छ । त्यस्तै, जगन्नाथ गाउँपालिकामा ९७, बुढीनन्दा नगरपालिकामा ७८ र हिमाली गाउँपालिकामा ३७ मेट्रिकटन स्याउ फलेको छ ।
कुल उत्पादनमध्ये करिब ५६ प्रतिशत मात्रै बिक्री भएको केन्द्रले जनाएको छ । जिल्लाभित्र तथा बाहिरी बजारमा गरी एक करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको सूचना अधिकारी न्यौपानेले बताए । गत वर्ष जिल्लामा एक करोड ५० लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो ।
जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेको छ । त्यसमध्ये २१० हेक्टर क्षेत्रफलमा मात्रै उत्पादन हुँदै आएको छ । चार स्थानीय तहका अतिरिक्त खप्तड छेडेदह र गौमुललगायतका क्षेत्रमा समेत स्याउखेती विस्तार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले खेतीको क्षेत्रफल विस्तारसँगै उत्पादन बढे पनि बजार व्यवस्थापनको समस्या रहेको बताए । उनका अनुसार वर्षायाममा अवरुद्ध भएका सडक स्याउ पाक्ने समयसम्म सञ्चालनमा नआउँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन कठिनाइ भएको हो ।
‘दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजारसँगै सदरमुकाम मार्तडी, धनगढी र नेपालगञ्जसम्म स्याउ बिक्रीका लागि पुर्याउन सकिएको हो’, प्रमुख विष्टले भने ।
उनले विगतका वर्षमा स्याउ ढुवानीका लागि कार्यालयमार्फत अनुदान उपलब्ध गराइने गरेको भए पनि यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट प्राप्त नभएकाले किसानले आफ्नै खर्चमा ढुवानी गर्नुपरेको बताए । यसले पनि स्याउ बिक्रीमा समस्या थपिएको उनको भनाइ छ ।
लगानी र मिहिनेतअनुसार उत्पादन हुन थालेपछि पछिल्लो समय जिल्लामा स्याउखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । क्षेत्रफल विस्तार तथा बगैँचा सुदृढीकरणका लागि कृषि ज्ञान केन्द्रले विभिन्न अनुदान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
केन्द्रका अनुसार जिल्लामा स्थानीय जातका स्याउसँगै फुजी, गाला, गोल्डेन र रोयल डेलिसियसलगायत उन्नत जातको खेतीसमेत विस्तार भइरहेको छ ।
उत्पादन बढ्दै गए पनि किसानले भने अझै उचित बजार र मूल्य पाउन सकेका छैनन् । सडकको असहज अवस्था, महँगो ढुवानी र शीतभण्डारको अभाव स्याउखेतीका प्रमुख चुनौतीका रूपमा देखिएका छन् ।
बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्जल रावतका अनुसार स्याउ उत्पादन हुने समयमा वर्षाका कारण सडक अवरुद्ध हुँदा बारीबाट बजारसम्म उत्पादन पुर्याउन समस्या हुने गरेको छ । कतिपय अवस्थामा किसानले स्याउ बोकेरै बजारसम्म लैजानुपर्ने बाध्यता रहेको र समयमा बिक्री गर्न नसक्दा ठूलो परिमाणमा स्याउ बारीमै खेर जाने गरेको उनले बताए ।
सडक सञ्चालनमा आएपछि पनि लामो दूरी र महँगो ढुवानी खर्चका कारण धनगढी तथा नेपालगञ्जसम्म स्याउ पुर्याउँदा किसानले अपेक्षित मूल्य पाउन सकेका छैनन् । उत्पादन भएको स्याउ लामो समयसम्म भण्डारण गरेर अन्य मौसममा बिक्री गर्न सकिने चिस्यान केन्द्रसमेत जिल्लामा नहुँदा किसान थप समस्यामा छन् ।
स्थानीय तह र कृषि ज्ञान केन्द्रले किसानलाई व्यावसायिक स्याउखेतीतर्फ आकर्षित गर्न बिरुवा वितरण, प्राविधिक परामर्श, खेती व्यवस्थापनसम्बन्धी तालिम तथा उत्पादन बजारीकरणमा सहयोग गर्दै आएका छन् ।
स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले यस्ता कार्यक्रमले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गरेको बताए । उनका अनुसार सडक स्तरोन्नति, सहज यातायात, नियमित ढुवानी सेवा, शीतभण्डार निर्माण, प्रभावकारी बजार व्यवस्थापन र प्राविधिक सहयोग उपलब्ध गराउन सके बाजुराको स्याउखेती जिल्लाको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्छ ।






