परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँग जोडिएको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बिहीबार चिनियाँ राजदूत चाङ माओमिङसँग भएको शिष्टाचार भेटका क्रममा मन्त्री खनालले तातोपानी नाका शीघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल गरेका हुन् ।

भेटमा मन्त्री खनालले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउँदमा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने अवस्था रहेको बताए ।

यस्तो परिस्थितिमा काठमाडौँसँग सबैभन्दा नजिक रहेको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन आवश्यक रहेको उनको भनाइ थियो ।

मन्त्री खनालले तातोपानी नाका दुई देशबीचको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकसमेत रहेको उल्लेख गर्दै यसको सञ्चालनले दुई मुलुकबीचको सम्पर्क सञ्जाल र आवागमनलाई सहज बनाउने बताए ।

भेटका क्रममा चिनियाँ राजदूत चाङले तातोपानी नाका सञ्चालनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ ।