काठमाडौँ । चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् ।
सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी थिए । सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गरेका हुन् । यद्यपि, ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन ।
संयुक्त वक्तव्यमा तीनै देशका नेताहरूले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबारे गहन छलफल गर्दै रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तीन देशले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना अघि सारेका छन् । साथै, विश्वभर ऊर्जाको स्थिर आपूर्ति सुनिश्चित गर्नु आवश्यक रहेकोमा जोड दिएका छन् ।
त्यसैगरी आणविक जोखिम न्यूनीकरण तथा आणविक हतियारको प्रसार रोक्न आपसी संवादलाई निरन्तरता दिने सहमति भएको वक्तव्यमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका संस्थाले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने विषय पनि संयुक्त वक्तव्यमा समेटिएको छ । राष्ट्रहरूको सहमति तथा सरकारी अधिकारीले पाउने कूटनीतिक उन्मुक्तिको सम्मान गर्नुपर्नेमा तीनै नेताले जोड दिएका छन् ।
यसका साथै संयुक्त राष्ट्रसङ्घको सुधार प्रक्रियालाई अघि बढाउन तीनै देशले प्रतिबद्धता जनाएका छन् ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी जिनपिङले सम्मेलनलाई सकारात्मक, रचनात्मक र उपलब्धिमूलक बताएका छन् । विश्व शान्तिको संरक्षण गर्ने विषयमा तीनै देशको साझा दृष्टिकोण रहेको उनको भनाइ थियो ।
सम्मेलन सम्पन्न भएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सेन्जेनबाट प्रस्थान गरेका छन् ।






