अस्ट्रेलियामा बेरोजगारी दर पाँच वर्षयताकै उच्च

क्यानबेरा– अस्ट्रेलियामा बेरोजगारी दर पछिल्लो पाँच वर्षयताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार सार्वजनिक सरकारी तथ्यांकअनुसार सन् २०२६ अक्टोबरमा बेरोजगारी दर बढेर ४.९ प्रतिशत पुगेको हो।

अस्ट्रेलियाली तथ्यांक विभाग (एबीएस) का अनुसार सेप्टेम्बरमा ४.७ प्रतिशत रहेको बेरोजगारी दर अक्टोबरमा ०.२ प्रतिशत विन्दुले वृद्धि भएको हो। अर्थशास्त्रीहरूले अक्टोबरमा पनि बेरोजगारी दर ४.७ प्रतिशतकै हाराहारीमा रहने अनुमान गरेका थिए। तर सार्वजनिक तथ्यांकले उनीहरूको अनुमानभन्दा खराब अवस्था देखाएको छ।

विभागका अनुसार सेप्टेम्बरदेखि अक्टोबरसम्म रोजगारीमा रहेका व्यक्तिको संख्या ४३ हजार ५०० ले घटेको छ भने बेरोजगारको संख्या १७ हजार ८०० ले बढेको छ।

अस्ट्रेलियन एसोसिएटेड प्रेसका अनुसार अर्थशास्त्रीहरूले अक्टोबरमा अर्थतन्त्रमा २० हजार नयाँ रोजगारी थपिने अपेक्षा गरेका थिए। यसअघि सेप्टेम्बरमा पनि रोजगारीमा रहेका व्यक्तिको संख्या ३९ हजार ३०० ले घटेको थियो।

यसैबीच, अस्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलियाले नोभेम्बरको सुरुतिर सार्वजनिक गरेको प्रक्षेपणमा बेरोजगारी दर आगामी दिनमा थप बढ्न सक्ने जनाएको थियो। बैंकले सन् २०२६ जुनमा ४.४ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरसम्म ४.७ प्रतिशत पुग्ने र सन् २०२८ को मध्यतिर पाँच प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेको थियो।

अस्ट्रेलियाली तथ्यांक विभागका श्रम तथ्यांक प्रमुख शन क्रिकका अनुसार युवाहरूमा पनि बेरोजगारी बढ्दै गएको छ। १५ देखि २४ वर्ष उमेर समूहको बेरोजगारी दर सेप्टेम्बरको ११.१ प्रतिशतबाट बढेर अक्टोबरमा ११.३ प्रतिशत पुगेको छ। यो पनि पछिल्लो पाँच वर्षयताकै उच्च दर हो।

त्यस्तै, अक्टोबरमा रोजगारीमा रहेको जनसंख्याको अनुपात ०.३ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ। यो सन् २०२१ डिसेम्बरयताकै न्यून स्तर हो।

श्रमशक्ति सहभागिता दरसमेत ०.२ प्रतिशत विन्दुले घटेर ६६.६ प्रतिशतमा सीमित भएको विभागले जनाएको छ। यो दरले काम गर्ने उमेरका जनसंख्यामध्ये कति व्यक्ति रोजगारीमा संलग्न छन् वा रोजगारीको खोजीमा छन् भन्ने देखाउँछ।

यसैगरी, अक्टोबरमा अस्ट्रेलियाली नागरिकले काम गरेको कुल समय अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले घटेको छ।

लगातार दुई महिनासम्म रोजगारीमा रहेका व्यक्तिको संख्या घट्नु, बेरोजगारी दर बढ्नु र श्रमशक्ति सहभागिता दरमा कमी आउनुले अस्ट्रेलियाको श्रम बजार कमजोर बन्दै गएको संकेत गरेको छ। विशेषगरी युवा पुस्तामा बेरोजगारी बढ्नु अर्थतन्त्र र रोजगारी सिर्जनाका लागि थप चुनौतीका रूपमा देखिएको छ।