चितवन– चितवनमा यस वर्ष धान उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ । धानखेती गरिएको क्षेत्रफल घटे पनि मौसम अनुकूल हुनु, रोगको सङ्क्रमण कम हुनु र किसानले समयमै मल पाउनुलगायत कारणले उत्पादन बढेको हो ।
जिल्ला कृषि विकास कार्यालय चितवनका अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष ५६ हेक्टर कम क्षेत्रफलमा धानखेती गरिएको छ । धानखेती हुने केही जमिनमा सुन्तला, कागती तथा तरकारीखेती विस्तार गरिएपछि धानखेतीको क्षेत्रफल घटेको उनले बताए ।
गत वर्ष जिल्लामा २७ हजार ३२४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । यस वर्ष भने २७ हजार २६८ हेक्टरमा मात्रै धानखेती गरिएको छ ।
खेतीयोग्य क्षेत्रफल घटे पनि यस वर्ष धान उत्पादन भने बढेको छ । यस वर्ष जिल्लामा एक लाख ४७ हजार २५२ दशमलव ३३ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष एक लाख ३५ हजार ५७६ मेट्रिक टन उत्पादन भएको थियो । यसरी गत वर्षको तुलनामा यस वर्ष ११ हजार ६७६ मेट्रिक टन बढी धान उत्पादन भएको हो ।
अर्थविज्ञ पौडेलका अनुसार यस वर्ष धानखेतीका लागि मौसम अनुकूल रहनु, रोगको सङ्क्रमण कम हुनु, किसानले समयमै मल पाउनु तथा धानबाली समयमै भित्र्याउन सक्नुले उत्पादनमा वृद्धि भएको हो ।
जिल्लामा यस वर्ष सावामन्सुली, राम, सावित्री, हर्दिनाथ–५, सावासब–१, गङ्गोत्री, ताइचुङ, हर्दिनाथ–६, काशीनाथ, मक्कावाला, कुबेर, कावेरी, गोरखनाथ र एमपीआर–५०५ लगायतका धानका जात लगाइएको थियो ।






