जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समयसीमा सकिए पनि दलहरूबीच सहमति जुट्न सकेको छैन । प्रदेश प्रमुखले दिएको समयभित्र कुनै पनि दलले सरकार गठनका लागि औपचारिक दाबी पेस गर्न सकेका छैनन् ।
नेकपा एमालेसहितको गठबन्धनबाट सरकारको नेतृत्व गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) नेपाल अनिच्छुक देखिएको छ । यद्यपि, अन्तिम समयमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा छन् । तर, नेपाली कांग्रेसले भने उनको नेतृत्व स्वीकार गरिसकेको छैन ।
यता, जसपा नेपालले अग्रगामी मोर्चाको अवधारणाअनुसार जनमत पार्टी र नेपाली कांग्रेसलाई समेत समेटेर नयाँ सरकार गठन गर्ने रणनीति अघि सारेको छ ।
यसैबीच, कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराई प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । दलहरूबीच सहमति जुट्न नसक्दा मधेशमा नयाँ सरकार गठनको प्रक्रिया अन्योलमा परेको छ ।






