ट्राफिक कारबाहीबाट मुस्ताङमा करिब १३ लाख राजस्व सङ्कलन

मुस्ताङ – मुस्ताङमा चार महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २७० सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधनलाई कारबाही गर्दा प्रहरीले १२ लाख ९६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म बेनी–जोमसोम सडकखण्ड हुँदै मुस्ताङ भित्रिएका सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा कारबाही गरिएको हो ।

प्रहरीका अनुसार साउनमा २९५ सवारीसाधनलाई कारबाही गर्दा तीन लाख सात हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै, भदौमा ४७५ सवारीसाधनबाट चार लाख ९० हजार, असोजमा १६२ सवारीसाधनबाट एक लाख ६४ हजार ५०० र कात्तिकमा ३३८ सवारीसाधनबाट तीन लाख ३४ हजार ५०० रुपैयाँ राजस्व उठेको छ ।

चार महिनाको अवधिमा भदौमा सबैभन्दा बढी सवारीसाधन कारबाहीमा परेका छन् । असोजमा भने बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकखण्ड दुई सातासम्म अवरुद्ध हुँदा सवारी आवागमन घटेको थियो । त्यसका कारण कारबाहीको संख्या र राजस्व संकलनसमेत घटेको प्रहरी निरीक्षक महतले जानकारी दिए ।

यसैबीच, मुस्ताङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले प्रहरीले सचेतनामूलक कार्यक्रमलाई पनि तीव्रता दिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८६४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सचेतना कार्यक्रममार्फत उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्याबाट बच्ने उपाय, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा मादक पदार्थ र लागूऔषध सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मुस्ताङमा १० जनाको दरबन्दी रहे पनि हाल नौ जना मात्रै कार्यरत छन् । तीमध्ये दुई जना म्याग्दी र मुस्ताङको सिमानामा रहेको घाँसा प्रहरी चेकपोस्टमा खटिएका छन् भने सात जना सदरमुकाम जोमसोममा ट्राफिक व्यवस्थापनमा परिचालित छन् ।

पर्यटकीय याममा सवारीसाधनको चाप बढ्ने भएकाले कागबेनी र मुक्तिनाथ क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिने प्रहरी निरीक्षक महतले बताए ।