काठमाडौं । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार बेहोरेको छ । शुक्रबार राति कतारको दोहामा सम्पन्न खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
भारत ‘ए’ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११औँ ओभरमै मात्र २६ रन बनाउँदै अलआउट भयो । नेपाली टोलीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पवन सर्राफले सर्वाधिक ६ रन बनाए ।
नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा भारतका प्रिन्स यादवले पाँच विकेट लिए । त्यस्तै, हर्षित रानाले चार तथा शाहबाज अहमदले एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो । भारतका लागि कुमार कुशाग्र र कप्तान तिलक वर्माले शतकीय इनिङ खेले ।
कुशाग्रले ११७ रन बनाउँदा तिलकले १०७ रन जोडे । त्यस्तै, सुर्यांश सेड्गेले १४ बलमा अविजित ३६ रन बनाए भने ओपनर वैभव सूर्यवंशीले २६ रनको योगदान दिए ।
४२ रनमा तीन विकेट गुमाएर दबाबमा परेको भारतलाई कुशाग्र र तिलकले सम्हालेका थिए । उनीहरूले चौथो विकेटका लागि २०६ रनको उत्कृष्ट साझेदारी गरे ।
भारतको स्कोर २४८ रन पुगेका बेला कुशाग्र ललित राजवंशीको बलमा बोल्ड भए । शतक पूरा गरेपछि असहज महसुस गरिरहेका तिलक नन्दन यादवको बलमा आउट भए ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशीले समान तीन विकेट लिए । नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट हात पारे ।
नेपालले प्रतियोगिताको दोस्रो खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।





