काठमाडौं । लुम्बिनी लायन्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले बिना कुनै विकेटको क्षति १३ ओभर ३ बलमै पूरा गर्यो।
सुदूरपश्चिमको जितमा जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गरे। उनले मात्र ५४ बलमा अविजित १२५ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। उनको शतकीय इनिङमा ८ चौका र १२ छक्का समावेश थिए।
अर्का ओपनर विनोद भण्डारीले पनि अविजित ३० रनको योगदान दिए। उनले २७ बलको सामना गर्दै मुन्सेसँग उत्कृष्ट साझेदारी गरे।
यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
लुम्बिनीका लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन जोडे।
त्यस्तै, निरोशन डिकवेलाले १७ बलमा २८, अली शेखले १२ बलमा २४ तथा डार्सी सर्टले १८ बलमा २१ रन बनाए।
सुदूरपश्चिमका लागि स्कट कुगलाइनले सर्वाधिक २ विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी, थारिन्दु रत्नायके र हेमन्त धामीले समान एक विकेट हात पारे।
फाइनलमा मुन्सेको कीर्तिमानी आक्रामक शतकीय पारीको मद्दतमा सुदूरपश्चिमले लुम्बिनीमाथि एकपक्षीय जित निकाल्दै एनपीएलको उपाधि उचालेको हो।






