कोरियाबाट फर्किएर गाउँमै ८० लाखको कृषि उद्यम, वार्षिक ६० लाख कारोबारको लक्ष्य

कञ्चनपुर । दक्षिण कोरियामा छ वर्ष बिताएर स्वदेश फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–८ का शम्शेरबहादुर बम अहिले गाउँमै कृषि तथा पशुपन्छीपालन व्यवसायमा रमाएका छन् । विदेशमा आर्जन गरेको अनुभव र स्वदेशमै उद्यम गर्ने अठोटका साथ उनले तीन वर्षअघि बाख्रापालनबाट व्यावसायिक कृषि यात्रा सुरु गरेका हुन् ।

सुरुमा २५ लाख रुपैयाँ लगानी गरेर गाउँघरबाट ८० वटा उन्नत जातका बाख्रा सङ्कलन गरी फार्म सञ्चालन गरेका बमले अहिले लगानी बढाएर ८० लाख रुपैयाँ पुर्‍याएका छन् । व्यवसाय विस्तार गर्ने क्रममा उनले बाख्रापालनसँगै स्थानीय जातका कुखुरा, कालिज, मौरीपालन र फलफूल खेतीसमेत सुरु गरेका छन् ।

‘साढे छ वर्ष कोरिया बसेर फर्किएपछि गाउँमै केही उद्यम गर्ने सोचले बाख्रापालन सुरु गरेको थिएँ’, बमले भने, ‘अघिल्लो वर्षदेखि बाख्रासँगै स्थानीय जातका कुखुरा, कालिज र मौरीपालनलाई पनि विस्तार गरेको छु ।’

भविष्यमा आफ्नो फार्मलाई मिनी एग्रो टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए । हाल उनको फार्ममा स्थानीय जातका दुई हजार कुखुरा, चार सय कालिज तथा उन्नत जातका बाख्रा रहेका छन् । साथै, उनले मौरीपालन र फलफूल बगैँचालाई पनि व्यवसायको अभिन्न अङ्ग बनाएका छन् ।

फार्ममा उत्पादित कालिजको बजार कैलालीसम्म विस्तार भएको छ । स्थानीय बजारमै उत्पादन बिक्री हुने भएकाले बजारको समस्या नरहेको बम बताउँछन् ।

‘कालिज कैलालीसम्म बिक्री हुने गरेको छ, बजारको समस्या छैन । स्थानीय स्तरमै पनि बिक्री हुन्छ’, उनले भने, ‘यस वर्ष ६० लाख रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको छु ।’

व्यवसाय सुरु गरेको पहिलो वर्ष अपेक्षित प्रतिफल नपाए पनि यस वर्ष सबै खर्च कटाएर १६ लाख रुपैयाँ मुनाफा हुने उनको अनुमान छ । फार्म सञ्चालनका लागि उनले मासिक १५ देखि २० हजार रुपैयाँसम्म तलब पाउने गरी तीन जना कर्मचारीसमेत नियुक्त गरेका छन् ।

पशुपन्छीपालन तथा कृषि व्यवसायमा संलग्न बम एमबीएस अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन् । एउटै व्यवसायमा निर्भर हुनुभन्दा विभिन्न उद्यम सञ्चालन गरी आम्दानीका स्रोत बढाउन सकिने उनको अनुभव छ ।

विदेशमा लामो समय बिताएपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएका बम मेहनत र लगनशीलता भए गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिने बताउँछन् । सरकारी निकायबाट आवश्यक सहयोग प्राप्त भए व्यवसायलाई थप विस्तार गर्ने उनको योजना छ ।

उनले आफ्नै डेढ बिघा र वार्षिक १२ हजार रुपैयाँ भाडा तिर्ने गरी लिएको थप १० कठ्ठा जग्गामा व्यवसाय सञ्चालन गरिरहेका छन् ।

बमले मौरीपालनलाई पनि आम्दानीको थप स्रोतका रूपमा विकास गर्दै लगेका छन् । मह उत्पादन तथा बिक्रीबाट आम्दानी बढाउने लक्ष्यसहित उनले हाल १० वटा घारमा मौरी पालेका छन् । मौरीले कृषि बालीमा परागसेचन प्रक्रियामा सहयोग पुर्‍याउने भएकाले यसलाई अन्य कृषि गतिविधिसँग समेत जोडेर अघि बढाएका छन् ।

मौरीका लागि पर्याप्त चरन व्यवस्थापन गर्न उनले तोरीखेतीसमेत गरेका छन् । ‘वर्षायाममा मौरीका लागि चरन नहुँदा चिनी र चास्नी बनाएर खुवाउनुपरेको थियो’, उनले भने, ‘अहिले चरनका लागि तोरी लगाएका छौँ । साथै, फलफूलको बगैँचासमेत स्थापना गरेका छौँ ।’

विदेशबाट फर्किएर आफ्नै गाउँमा कृषि तथा पशुपन्छीपालन व्यवसायमार्फत आत्मनिर्भर बन्ने बमको प्रयासले रोजगारीको खोजीमा रहेका युवालाई पनि स्वदेशमै उद्यम गर्ने सम्भावना देखाएको छ ।