म्याग्दी।मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाए । पुर्ख्यौली खेतीकिसानीलाई निरन्तरता दिएका उनले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् ।
भण्डारी परिवार पीपलबोट क्षेत्रमा सबैभन्दा धेरै धान उत्पादन गर्ने किसानका रूपमा परिचित छ । उनले बाउबाजेको पालादेखि २३ रोपनी जग्गामा गौरिया र जेठोबुढो जातको धान खेती गर्दै आएका छन् ।
‘गौरिया धानको बास्ना राम्रो आउँछ र उत्पादन पनि राम्रो हुन्छ । यस वर्ष बिक्रीका लागि ४५ मुरी गौरिया धान भकारीमा भण्डारण गरेको छु,’ भण्डारीले भने, ‘घरायसी उपभोग र आफन्तलाई कोसेली पठाउन २५ मुरी जेठोबुढो धान फलाएको छु ।’
यस वर्ष उत्पादन भएको ७० मुरीमध्ये ६० मुरी आफ्नै खेतमा फलाएको र १० मुरी अधियाँमा खेती गरेर प्राप्त गरेको उनले बताए । भण्डारीले धानलाई घुन र मुसाबाट जोगाउन काठको बाकस बनाएर बाहिर गोबरले टालेर सुरक्षित भण्डारण गरेका छन् ।
उनले घरमै विद्युतीय मिलबाट धान कुटेर चामल बिक्री गर्नुहुन्छ । बेनी, पोखरा, काठमाडौँ र दरवाङसम्म गौरीया चामलको माग आउने गरेको छ । पछिल्लो समय यातायात र सञ्चार सुविधाले व्यापार गर्न सहज भएको उनकी बुहारी गीता सुवेदी भण्डारीले बताइन् । ‘पहिले चामल बोकेर बजार पुर्याउनुपथ्र्यो । अहिले फोनबाटै माग आउँछ । गाडीमा पठाइदिन्छौँ र उपभोक्ताले बैङ्क खातामा पैसा जम्मा गरिदिनुहुन्छ, ‘ उनले भनिन् ।
भण्डारीले प्रतिपाथी गौरिया चामल रु एक हजारमा बिक्री गर्छन् । वर्षमा ५०० पाथीसम्म चामल बिक्री हुने उनले बताए । गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन बढेको भण्डारीले बताए ।
स्वाद र बास्नाका कारण व्यापारी, उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मी, राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिको रोजाइमा गौरिया चामल पर्ने गरेको छ । म्याग्दीको मौलिक रैथाने बालीका रूपमा परिचित गौरिया धानको मुख्य विशेषता पाक्दा आउने विशिष्ट बास्ना, स्वादिलो भात र आडिलोपन हो ।
मङ्गला गाउँपालिकाका छिस्वाङ, रणवाङ, पीपलबोट, सेराफाँट, कुरसिम्ला, खोप्ती, तल्लोपोक, बाबियाचौर, सिमलचौर, सातबिसे, सिम र कोत्रवाङ क्षेत्रमा यसको खेती हुँदै आएको छ ।
स्थानीय किसान छविलाल सापकोटाका अनुसार पिपलबोट र सेराफाँटका किसानले सरदर ४० मुरीसम्म धान उत्पादन गर्छन् । उनका अनुसार यस क्षेत्रबाट वार्षिक करिब दुई हजार ५०० मुरी गौरिया धानको चामल बिक्री हुने गरेको छ । एक मुरीमा २० पाथी हुन्छ ।
म्याग्दी नदीको तटीय क्षेत्रका गैरीखेतमा खेती हुने भएकाले यसको नाम गौरिया रहन गएको स्थानीय किसानको भनाइ छ । पछिल्लो समय खेतीयोग्य जमिन बाझिने क्रम बढिरहेका बेला भण्डारी परिवारले निरन्तर गरेको धानखेती र व्यावसायिक सफलताले अन्य किसानलाई पनि प्रोत्साहित गरेको स्थानीय शिक्षक रेशमलाल सापकोटाले बताए ।
भण्डारीले खेतीबाट भएको आम्दानीले घरव्यवहार चलाउनुका साथै एक छोरा र दुई छोरीलाई उच्च शिक्षा प्रदान गरेका छन् । विदेश नगई पुर्ख्यौली पेसालाई निरन्तरता दिएका उनले पछिल्लो समय रोपाइँ र बाली भित्र्याउने समयमा श्रमिक अभाव हुँदा खेतीको लागत बढेको र बचत घटेको बताए ।
आफ्ना छोरानातिले पनि आधुनिक प्रविधिको प्रयोग गरी उर्वर जमिनको सदुपयोग गर्दै खेती किसानीलाई निरन्तरता दिउन् भन्ने उनको चाहना छ । रासस





